काठमाडौं, ८ साउन । कोभिड १९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै ’इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरू दोस्रो पटक अनशन बसेको आज ६ दिन भएको छ ।
केही हप्ताअघि पीसीआर टेस्ट बढाउनु पर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, अग्र पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका कयौँ जायज मागहरू राख्दै दुईजना युवाहरू ईः र पुकार बम १२ दिनसम्म अनशन बसेका थिए । सरकारले ती मागहरू पुरा गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले अनशन तोडेका थिए ।
तर, सरकारको प्रतिबद्धतामा कुनै प्रगति नभएको भन्दै सरकारमाथि दबाब सृजना गर्न ई:, करण गुरूङ र समाइरा श्रेष्ठले पुनः सत्याग्रह सुरू गरेका छन् ।
सरकारले आम सर्वसाधारणको मागविना आफै गर्न पर्ने कामहरू गराउनका लागि युवाहरूले आफ्नो ज्यान जोखिममा राखेका छन् । तर सत्तारूढ दलका जिम्मेवार नेताहरू शक्ति संघर्षको घिनलाग्दो राजनीतिक खेलमा अहोरात्र व्यस्त छन् । देश र जनताप्रति उनीहरूको कुनै संवेदनशीलता देखिँदैन ।
संक्रमणको जोखिम कायमै रहेको अवस्थामा अनशनरत युवाहरूसँग भएको सहमति लागू नगर्नु अपराध रहेको साझा पार्टीको आरोप छ ।
साझा पार्टीका सहप्रवक्त शरदराज पाठकले विज्ञप्ति जारी गरी भनेका छन्, ‘देशको रूपान्तरणका लागि ईः, करण गुरूङ र समाइरा श्रेष्ठजस्ता युवाहरूले लड्नु पर्ने युद्ध लामो छ। तर सरकारको असंवेदनशीलताले गर्दा एउटै लडाईंमा उनीहरूको स्वास्थ्यमा दीर्घकालीन चोट पुग्न सक्छ ।’
सरकारी बेवास्ताले अनसनकारी युवाको स्वास्थ्यमा दीर्घकालीन असर परे वा उनीहरूको जीवन तलमाथि भए, त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण दोष प्रधानमन्त्री ओली स्वयंले लिनुपर्ने साझाको ठहर छ ।
साझा पार्टीले अनशनरत युवाहरूप्रति पूर्ण ऐक्यबद्धता जाहेर गर्दै देश–विदेशका सम्पूर्ण नेपालीलाई जहाँबाट जसरी सकिन्छ उनीहरूप्रति ऐक्यवद्धता प्रकट गर्न आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया