सात वर्षे प्रावधान संविधानको मर्म विपरीत : राजेन्द्र महतो

समाचार

6/21/2020

काठमाडौं, ७ असार । जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले वैवाहिक अंगीकृत नागरिकता लिन सात वर्ष कुर्नुपर्ने प्रावधान राखे परिवारभित्रै राष्ट्रियताको विभाजन हुने दाबी गरेका छन् ।

नागरिकता विधेयकबारे छलफल गर्ने आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद महतोले सीमाको ‘रोटीबेटीको सम्बन्ध’ सिंहदरबार र दिल्ली दरबारले नबनाएको भन्दै नागरिकता कानुनमा सत्तारूढ नेकपाले भनेजस्तो सात वर्षको बन्देज लगाएका परिवारभित्र राष्ट्रियता विभाजन हुने बताए ।

उनले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरीत भएको पनि बताए ।

‘अंगीकृत नागरिकका सन्दर्भमा जे बन्देज लगाउनु थियो, संविधानमा लगाइसकेको छ’ उनले भने, ‘अहिले फेरि ७ वर्षको प्रस्ताव किन ?’ किन प्रस्ताव आयो बुझ्न नसकेको भन्दै महतोले भने, हामीले कहाँ प्रहार गर्न खोजेको हो ? जनताको भावनामा ठेस पुग्ने कानुन बनाएर के सन्देश दिन खोजिएको हो ?’

महतोले नेकापाले वैवाहिक अंगीकृत नागरिकता लिन सात वर्ष कुर्नुपर्ने गरेको प्रावधानबाट सदियौंदेखि चलिआएको सम्बन्धमा असर पार्ने पनि बताए ।

उनले वैवाहिक नागरिकता लिएकाले नभई वंशजको नागरिकता लिने नै राष्ट्रघात गरेको भन्दै त्यस्ता राष्ट्रघातीहरूको पर्दाफास गर्नुपर्नेमा जोड दिए । ‘अहिलेसम्म जन्मसिद्धका सन्तानले नागरिकता पाउन सकेका छैनन । जनस्तरका समस्यामा सरकार यति असंवेदनशील बन्नु हुन्न,’उनले भने ।

छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले सात वर्षे प्रतिबन्ध लगाउने हो भने संविधान संशोधन गर्नुपर्ने माग गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ