सप्तरीमा आधा दर्जन गाउँ डुबानको खतरामा

समाचार

6/28/2020

राजविराज, १४ असार । तीनचार दिनदेखि पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा पर्ने खतरा रहेको छ ।

यस वर्ष पनि वर्षा सुरु भइसकेकाले दक्षिणी भेगका तिलाठी, कोइलाडी, लोनियाँ, सकरपुरा, रम्पुरा र मल्हनियासहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा रहेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।

सप्तरीमा चुरे क्षेत्र हुँदै बग्ने खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायत दर्जनौँ खोलामा आउने बाढीकै कारण हरेक वर्ष अधिकांश गाउँ डुबानमा परेर ठूलो धनजनको क्षति हुने गरेको छ । ती खोलामा बाढीको प्रवाह रोक्ने गरी दुवै किनारमा मजबुत तटबन्ध आवश्यक भए पनि कोरोना भाइरसका कारण तीन महिनादेखि काम नभएका कारण बाढी आउने खतरा रहेको स्थानीयवासी बताउँछन् ।

खाँडो खोलाको बाढीका कारण बर्सेनि डुबानको समस्या झेल्दै आएका तिलाठी कोइलाडी गाउँपालिका अहिले उच्च जोखिममा परेको जनाइएको छ ।

लकडाउनका कारण खाँडो नदीमा निर्माण हुने तटबन्ध समयमा निर्माण हुन नसकेका कारणले पनि तिलाडी कोइलाडी गाउँपालिका यस वर्ष पूर्णरुपमा डुबान हुने उनले बताए । खाँडो नदीले प्रत्येक वर्ष तिलाठी कोइलाडी गाउँपालिका–१ देखि ८ सम्म डुबान हुने गरेको बताउँदै बाढी आउनुभन्दा अघि नै यहाँको जनता सतर्कता अपनाउन पर्ने उनको आग्रह छ ।

यस्तै सप्तरीका सप्तकोसी, कञ्चनरूप, हनुमाननगर कङ्कालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाइर, कृष्णासवरण, महेदवा, तिरहुत र रुपनी गाउँपालिकाका दर्जनौँ गाउँबस्ती प्रत्येक वर्ष डुबानमा पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ