सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

समाचार

3/4/2020

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ ।

मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको अस्पतालको उच्च स्रोतले जानकारी दिएको हो । त्रिवि अस्पताल स्रोतका अनुसार २०६४ सालमा भारतमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न सर्जन डा. अनन्त कुमारसहित दुई जना फिजिसियनसमेत सहभागी भएका हुन् ।

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भएका भारतीय चिकित्सक अनन्त कुमार यसअघि नै काठमाडौं आएका थिए । प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । प्रधानमन्त्रीको तस्बिर अंकित प्लेकार्ड प्रदर्शन गरिएका छन् ।

त्रिवि शिक्षण अस्पतालको एनेक्स मेडिकल वार्डमा प्रधानमन्त्री ओलीलाई राखिएको छ । अस्पताल र आसपासमा बुधबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पतालका छतमासमेत सुरक्षाकर्मी तैनाथ छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ