काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छी सक्रिय देखिएकी छन् ।
यसअघि नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला पनि उनले सक्रियता देखाएकी थिइन् । कतिपयले उनकै सक्रियताका कारण त्यतिबेला नेकपा विभाजन हुनबाट बचेको टिप्पणी गरेका थिए । पुनः नेकपा फुटको संघारमा रहेको ठानिएका बेला देखिएको उनको सक्रियतालाई राजनीतिकवृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
आइतबार बेलुकी उनले नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेकी थिइन् । भेटमा नेकपाभित्रको पछिल्लो घटनाक्रमबारे उनले चासो राखेको बताइएको छ ।
नेकपा विवाद उत्कर्षमा रहेका बेला बढेको याङ्छीको सक्रियताको विषयले सामाजिक सञ्जालमा समेत महत्त्व पाएको छ । कतिपयले उनको सक्रियतालाई नेपालको राजनीतिक दलभित्र विदेशी हस्तक्षेपका रुपमा हेरेका छन् भने कतिपयले उनको सक्रियतालाई अस्वाभाविक भनेका छन् ।
पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले याङ्छीको सक्रियतालाई फेबिकोलको संज्ञा दिएका छन् । उनले ट्विट गर्दै भनेका छन्, “कसो नटाँसिएला त ? फेबिकोल नै लाएपछि ! हौ कान्छी !!”
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले याङ्छी सक्रियतालाई विदेशी हस्तक्षेप भनेका छन् । उनले ट्विटमार्फत टिप्पणी गरेका छन्, “कांग्रेसको वर्तमान रोडम्याप कांग्रेसकै महाधिवेशन हो । कांग्रेसलाई देखाएर नेकपाका नेताहरुले आपसी झगडा बल्झाउने र एकले अर्कोलाई तर्साउने नगरे हुन्छ। सकेसम्म आफैं मिल्नुस् । नसके चिनियाँ राजदूतको दौडधूप त चलेकै देख्छु। चिनियाँ राजदूतको हस्तक्षेपले कामरेडहरुको राष्ट्रियता त दुख्दैन होला नि !”
नेपाल पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झाले नेपालका राजनीतिक दल र नेता आफैं मिल्न सक्दैनन् भन्दै प्रश्न गरेका छन् । चिनियाँ राजदूत याङ्छी नेकपाको विवाद मिलाइदिन सक्रिय भएको तर्फ संकेत गर्दै उनले ट्विट गरेका छन्, “के हाम्रा पार्टी र नेताहरु यति नालायक छन् कि हाम्रा छिमेकीहरुले तिनलाई कहिले मिलाइदिनुपर्ने र कहिले फुटाइदिनुपर्ने ? हाम्रा दल र नेताको आफ्नो बुद्धिविवेक छैन ?”
तपाईको प्रतिक्रिया