समाजवादीका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न गृहको निर्देशन

समाचार

4/9/2020

काठमाडौं, २७ चैत । भारतको रक्सौलस्थित क्वारेन्टाइनमा रहेका नेपालीसँग भेट गरेका समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले पर्साको स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

मन्त्रालयले पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचितसांसद यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सालाई एक पत्र लेख्दै गृह मन्त्रालयले संघीय सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो ।

सांसद यादव बुधबार नेपालसँग सीमा जोडिएको भारतीय क्षेत्र रक्सौलमा त्यहाँ क्वारेन्टाइनमा रहेका नेपालीसँग भेट गरेका थिए ।

क्वारेन्टाइनमा रहेका व्यक्तिलाई भेट्न नपाइने व्यवस्थाविपरित सांसद यादवले भेटेको पाइएपछि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको हो ।

गृह मन्त्रालयले सांसद यादवसँगै क्वारेन्टाइन क्षेत्रमा गएका र त्यसयता उनको सम्पर्कमा आएका व्यक्तिमाथि पनि निगरानी गरी आवश्यक परे क्वारेन्टाइनमा राख्न पनि जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको छ ।

सांसद यादव बुधबार नेपालसँग सीमा जोडिएको भारतीय शहर रक्सौलको हजारी मल उच्च माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा पुगेका थिए । उक्त ठाउँमा २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये १५ जना नेपाली छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ