काठमाडौं, २३ असार । नक्सा प्रकरणमा फरक मत राख्ने समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद र पार्टीबाट दुवै पदबाट हटाएको छ ।
मंगलबार बसेको समाजवादी पार्टीको बैठकले गिरीलाई पार्टीबाट निष्काशन गर्नुको साथै सांसद पदबाट पनि हटाएको हो ।
समाजवादीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको जनाइएको छ ।
नेपालको निशान छाप परिवर्तनका लागि लिपुलेक, लिम्पियाधुरा र कालापनीको विषयमा सरकारले गर्न लागेको संशोधनको विरुद्धमा सांसद गिरीले संशोधन दर्ता गराएकी थिइन् । समाजवादी पार्टीले संशोधन फिर्ता लिई नक्सासम्बन्धी विधेयकमा मतदान गर्न ह्वीप नै जारी गरेको थियो ।
तर, सांसद गिरी आफ्नो अडान नछोडी मतदान प्रक्रिया कै बहिष्कार गरेर चलिरहेको संसद बैठकबाट बाहिरिएकी थिइन् ।
सांसद गिरी तत्कालीन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको तर्फबाट खसआर्य कोटाबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन् ।
तपाईको प्रतिक्रिया