चिनियाँ सामानको आयात घट्यो

समाचार

3/11/2020

काठमाडौं, २८ फागुन । कोरोनाको प्रभावले ढुवानी असहज भएपछि रूपन्देहीको बेलहिया नाकाबाट चिनियाँ सामानको आयात घटेको छ ।

चीनबाट एलसी खोलेर नयाँ सामान मगाउन नसकिएको स्थानीय व्यवसायी बताउँछन । पहिल्यै आयात गरेर मौज्दात रहेका र भारतको कोलकाता बन्दरगाहमा रहेका सामान आइरहेकाले बजारमा अभाव भइसकेको छैन ।

पछिल्ला दिनमा चिनियाँ व्यवसायीले सामानको अर्डर नलिएको सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा एभरेस्ट रोलिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अरुण गोयन्काले जानकारी दिए ।

‘कोरोना भाइरसका कारण कतिपय उद्योग बन्द रहेको र ढुवानी गर्न नसकिने जनाउँदै चिनियाँ व्यवसायीले अर्डर लिन छाडेका छन्,’ उनले भने । तत्काल भाइरस नियन्त्रणमा आएर अवस्था सहज बने पनि नियमित रूपमा चीनबाट सामान आउन कम्तीमा तीन महिना लाग्ने उनले बताए ।

तेस्रो मुलुकबाट आउने सामान कोलकाता बन्दरगाह हुँदै वीरगन्ज नाकाबाट ढुवानी गर्न सजिलो हुन्छ । यस्तै नेपालगन्ज नाकाबाट पनि चिनियाँ सामग्री आयात कम भएको भन्सार कार्यालयले जनाएको छ । दुई महिनायता नेपालगन्जमा चीनबाट कुनै सामान भित्रिएको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ