काठमाडौं, २९ चैत । भारतमा कोराना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले सीमा क्षेत्रमा सशस्त्रसँगै नेपाल प्रहरी (जनपद) समेत गरी ठूलो संख्यामा सुरक्षाकर्मी र चेकपोस्ट थप गरेको छ । सीमा क्षेत्रमा सशस्त्रका ९ सय २५ र नेपाल प्रहरीका ४ सय ५ वटा चेकपोस्ट राखिएको हो ।
यसअघि दक्षिणी मुलुकसँगको सीमामा सशस्त्रका १ सय २० वटा मात्रै चेकपोस्ट रहेकोमा ८ सय ५ वटा अस्थायी चेकपोस्ट थप गरिएको हो । अब सीमानामा सशस्त्रका मात्रै ९ सय २५ वटा चेकपोस्ट पुगेका छन् ।
नेपाल प्रहरी र सशस्त्रका नयाँ समेत गरी अब १३३० चेक पोस्टले नेपाल–भारत सीमामा सुरक्षा दिनेछन् । ती पोस्टहरुमा दुवै तर्फका गरी १० हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।
सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीको भए पनि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ४ सय ५ वटा नाकामा नेपाल प्रहरी खटिएका छन् । यसबाहेक पनि जिल्ला प्रहरीले त्यहाँको वस्तुस्थिति अध्ययन गरी आवश्यकता अनुसार अस्थायी चेकपोस्ट खडा गरेका छन् ।
सबै जिल्लालाई स्थानीय जोखिम अनुसार रणनीति बनाएर भारतीय सीमाबाट प्रवेश गर्न नपाउने व्यवस्था गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । भारतमा कोरोनाको जाखिम बढ्दै गएपछि नेपाल छिर्न सक्ने संभावना रहेकाले प्रहरीको संख्या थप गरिएको हो ।
तपाईको प्रतिक्रिया