काठमाडौं, १ बैशाख । नेपाल–भारत सीमामा थप कडाइ गरिदिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गृहमन्त्री रामबहादुर थापासँग आग्रह गरेका छन् ।
वीरगन्जको एक मस्जिदमा आएका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि गृहमन्त्री थापालाई टेलिफोन गरेर मुख्यमन्त्री राउतले भारतसँग सीमा जोडिएका नाकाबाट मानिस आवतजावत पूर्ण रुपमा निषेध हुने गरी सुरक्षा व्यवस्था कडा पार्न आग्रह गरे ।
जबाबमा गृहमन्त्री थापाले लकडाउन कार्यान्वयन र सीमा नाका सिल गर्न सबै रणनीति अवलम्बन गरिएको र थप तैनाथी बढाइने बताए ।
मुख्यमन्त्री राउतले कोरोना संक्रमण थप फैललिन नदिन सीमा नाका सिल गर्नुको विकल्प नभएको पनि बताएका थिए । संघीय सरकार अन्तर्गतका प्रशासन र प्रहरी संरचनालाई थप चुस्त रुपमा खटाउन पनि आग्रह गरेका थिए ।
जवाफमा गृहमन्त्री थापाले गोरेटो बाटो र खेतबारीसम्म सुरक्षा फौज तैनाथ भइसकेको र आवश्यकता परे अन्य स्थानबाट थप जनशक्ति परिचालन गरिने बताएका थिए ।
प्रदेश २ का ८ जिल्लाको भारतसँग ४ सय ६४ किमि लम्बाइ सीमा छोएको छ । खुल्ला सीमानाका कारण अनौपचारिक नाका र खेतबारीबाट आवतजावत गर्नेक्रम अझै पूर्ण रुपमा नियन्त्रण हुन सकेको छैन । सशस्त्र प्रहरीले २ नम्बर प्रदेशमा मात्रै सीमातर्फ ४ सय २६ चेकप्वाइन्टबाट सुरक्षाजाँच गरी आवतजावत रोकेको छ ।
तपाईको प्रतिक्रिया