सीमामा सशस्त्रको पैदल गस्ती

समाचार

4/13/2020

राजविराज, १ बैशाख । कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) खडा गरी सप्तरीमा थप कडाइ गरेको छ ।

सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन जिल्लाका ५५ स्थानमा प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल ६ गणले जनाएको छ ।

नेपाल–भारत आवतजावत ठप्प गर्न सशस्त्र प्रहरी बलले ठूलो सङ्ख्यामा पोस्ट खडा गरी पैदल गस्तीसमेत थालेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिए ।

भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा यसअघि सात वटा मात्र बिओपी थियो ।

‘सात बिओपीको जिम्मेवारी क्षेत्र औसत दूरी ११/१२ किलोमिटर रहेकाले सीमानाका पूर्णरूपमा नियन्त्रण गर्न कठिनाइ भइरहेको थियो’, सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले भने, ‘नियमितबाहेक थप १६ स्थानमा अस्थायी चौकी खडा गरी ५५ स्थानमा परिचालन गरिएपछि सीमामा आवतजावत पूर्णरूपमा ठप्प भएको छ ।’

कोरोना सङ्क्रमण रोकथामका लागि सीमानाका बन्द गरिए पनि खुला सीमाका कारण सर्वसाधारणको आवतजावत भइरहेको विषयलाई मध्यनजर गर्दै थप जनशक्ति परिचालित गरी पैदल गस्ती थालिएको सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ