सीमामा ४ सय सुरक्षा पोस्ट थप्न गृहको तयारी

समाचार

5/6/2020

काठमाडौं, २४ बैशाख । सशस्त्र प्रहरीले सीमा नाकामा भारतकै जति सुरक्षा पोस्ट राख्न प्रस्ताव गरेको छ । नेपाल–भारत सीमामा भारतका ५ सय ३० वटा सुरक्षा पोस्ट छन् । नेपालले भने भारततर्फको सीमामा १ सय २१ वटा पोस्ट राखेको छ ।

नेपालका तर्फबाट सुरक्षा पोस्ट (बीओपी) को संख्या ५ सय पु¥याउन सशस्त्रले प्रस्ताव गरेको हो । झण्डै ४ सय पोस्ट थप्ने प्रस्तावसहितको योजना सशस्त्रले गृह मन्त्रालयमा बुझाएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले सिमानामा आवतजावत पूर्ण बन्द गर्ने गरी योजना ल्याउन सशस्त्रलाई निर्देशन दिएका थिए ।

लकडाउनको समयमा सीमामा थप कडाइ गर्न सुरक्षा पोस्ट आवश्यक रहेको भन्दै सो योजना तयार गरेको हो । यीमध्ये एक सय बीओपी थप्ने प्रक्रिया सुरु भइसकेको छ ।

यी बीओपी अन्तरगत रहने गरी चेकपोस्ट थप हुनेछन्। हाल १३ सय अस्थायी चेकपोस्ट छन् । तर भारतबाट प्रहरीलाई छल्दै नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्रले थप कडाइ गर्न योजना बनाएको हो ।

त्यसका लागि ९ हजार जनशक्ति पनि थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ । हाल सरदर १५ किलोमिटरको दूरीमा रहेको बीओेपी त्यसपछि ३.५ किलोमिटरको फरकमा रहनेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ