सीमामा ५ हजार सुरक्षाकर्मी तैनाथ

समाचार

4/19/2020

विराटनगर, ७ बैशाख । प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा थप कडाइ गरिएको छ । उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ । सीमा क्षेत्रमा तीन हजार सात सय सशस्त्र प्रहरी र एक हजार एक सय नेपाल प्रहरी परिचालन भएका छन् ।

दशगजामा चोकपोष्ट खडा गरी २४ घण्टा प्रहरी सुरक्षा तैनाथी बढाइएको छ । लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सीमा क्षेत्रमा परिचालन बढाइएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नगेन्द्र थापाले जानकारी दिए ।

सीमा क्षेत्रको सुरक्षा निगरानी र नियन्त्रणका लागि १८ जना प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी परिचालन गरिएको उनले बताए । अहिले सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी प्रत्येक पाँच सय मिटरमा सुरक्षा पोस्ट राखिएको छ ।

भारतको विहार र पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको प्रदेश १ का जिल्ला इलाम, झापा मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कुल तीन सय ८ वटा नयाँ पोस्ट थपिएको छ । ती पोस्टमा सात जनाको दरले सशस्त्र प्रहरी रहनेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ