सीमा क्षेत्रको भारतीय बाँधबारे नेपालले भारतसँग वार्ता गर्ने

समाचार

7/18/2020

काठमाडौं, ३ साउन । नेपालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी उक्त निर्देशन दिएका हुन् ।

मन्त्री पुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि ‘बाढी तथा डुबान व्यवस्थापन सम्बन्धी नेपाल-भारत संयुक्त समिति (जेसीआईएफएम) को बैठक तत्काल डाँक्नेबारे भारतीय पक्षसँग छलफल गर्न निर्देशन दिए ।

दुवै देशका सह(सचिव रहने उक्त समितिको नेतृत्व नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नेछन् ।
‘बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ’, मन्त्री पुनले भने, ‘समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआईएफएमको बैठक डाक्नुस् ।’

नियमित कार्यतालिकाअनुसार जेसीआईएफएमको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठले जानकारी दिए ।

‘नियमित बैठक नोभेम्बरमा बस्ने हो’, श्रेष्ठले भने, ‘मन्त्रीज्यूबाट निर्देशन भए अनुसार हामी तत्काल वार्ताका लागि भारतीय पक्षलाई खबर गर्छौं ।’ सचिव श्रेष्ठले भारतीय पक्षसँग अनौपचारिक तहमा भने समस्या समाधानबारे कुराकानी भइरहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ