काठमाडौं, १ बैशाख । सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ ।
भारतबाट लुकिछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै ६ हजार जनशक्ति परिचालन गरेको छ ।
सीमा क्षेत्रमा अवैध रुपमा आवागमन नहोस् भन्ने ध्येयका साथ लकडाउनलाई प्रभावकारी बनाउन एक हजार ६८ स्थानमा पिकेट स्थापना गरी उक्त परिमाणमा जनशक्ति खटाइएको हो ।
केही स्थानमा भने सीमा पूर्ण रुपमा नै बन्द गरिएको छ भने कोही कसैलाई पनि आवतजावत गर्न नदिइने प्रबन्ध गरिएको छ ।
छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा रहेको क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसिएमसी)मा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बललाई नै थप प्रभावकारी रुपमा लकडाउन पालना गराउन परिचालन गरिएको छ ।
नेपाल–भारत सीमा नाकाको नियमति निगरानी गरी आवागमन पूर्णत बन्द गरिएको छ । देशभरको दैनिक शान्ति सुरक्षाको अवस्था समीक्षा गरी आवश्यकताअनुसार समन्वयात्मक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
तपाईको प्रतिक्रिया