काठमाडौं, १ चैत । दुई देशको सीमा विवादबारे छलफल गर्न अहिले परिस्थिति अनुकूल नरेहको भारतले जनाएको छ ।
नेपालले कूटनीतिक नोटमार्फत् वार्ताका लागि आग्रह गरेको जबाफ दिदै भारतले अहिले परिस्थिति अनुकूल नभएको जवाफ पठाएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले भारतीय विदेश सचिव र नेपालका लागि भारतीय राजदूत फेरिएपछि नेपालले प्रस्ताव गरेको मितिमा वार्ता हुन नसकेको बताए ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सचिव बैरागीले भारत वार्ताका लागि सकारात्मक भए पनि दुवै देशको अनुकूल समयको पर्खाइ रहेको बताए ।
‘परराष्ट्र सचिवस्तरीय वार्ताबाट समस्या समाधान गर्न नेपाल सरकारले २ पटक वार्ताका लागि मिति प्रस्ताव गर्दै कूटनीतिक पत्र पठाएको थियो’ उनले भने, ‘तर, योबीचमा भारतीय विदेशसचिवको परिवर्तन र नेपालका लागि भारतीय राजदूतको नयाँ नियुक्तिका कारण नेपालले भनेको मिति उनीहरूलाई अनुकूल नभएको बुझ्नमा आएको छ । फेरि अर्को बैठक कहिले गर्ने भन्ने कुरा टुंगो लागेको छैन् ।’
सचिव बैरागीले यो वर्ष नेपाल भारत सीमामा १ सय ५५ सीमास्तम्भ निर्माण भएको बताए । यस्तै, १५ स्तम्भ मर्मत र ३९ ठाउँमा सर्भे भएको उनले बताए । नेपाल भारत संयुक्त प्राधिक समितिले विभिन्न ४ टोली बनाएर सीमा निरीक्षण गरेर तथ्यांकसमेत संकलन गरेको उनले बताए ।
तपाईको प्रतिक्रिया