काठमाडौं, २३ साउन । नेपाल सरकारले उपलब्ध गराएको प्रयोगशालाको सूचीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नरहेकाले आफ्ना नागरिकको पीसीआर रिपोर्ट अस्वीकृत गरिएको चिनियाँ दूतावासले जनाएको छ ।
सरकारले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्टार अस्पताल र काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालको सूची पठाएकाले त्यहाँको रिपोर्ट मात्रैलाई मान्यता दिने निर्णय भएको दूतावासले स्पष्टीकरण दिएको छ ।
नेपाल सरकारले उपलब्ध गराएको सूची आफूहरुले चीनको अध्यागमन कार्यालयमा जानकारी पठाइएकाले त्यहीअनुसारको रिपोर्ट मात्रै आफूहरुले मान्नुपरेको काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले बताए ।
स्वदेश फर्किन लागेका चिनियाँ नागरिकको पीसीआर गरिदिन भन्दै काठमाडौं महानगरपालिकाको वडा नं. २६ को कार्यालयले सिफारिस गरेपछि शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले ५९ जनाको स्वाब संकलन गरेको थियो ।
ईडीसीडीका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलको टोली स्वाब संकलन गर्न ठमेलको ज्याठास्थित एक होटलमा गएका थिए ।
चिनियाँ दूतावासले राष्ट्रिय प्रयोगशालाबाहेक वीर, टिचिङ, पाटन, केएमसी र स्टार अस्पताल जहाँ पीसीआर गराएर रिपोर्ट ल्याए पनि मान्ने भनेपछि होटल व्यवसायीले छिटो रिपोर्ट लिन स्टार अस्पतालको प्रयोगशालामा पीसीआर गराएको वडाध्यक्ष तिवारीले बताए । चिनियाँहरू शुक्रबार चीन फर्कने तयारीमा छन् ।
तपाईको प्रतिक्रिया