काठमाडौं, १५ चैत । कोभिड–१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबीच साझा रणनीति बनेपनि पाकिस्तानका कारण त्यस अनुरुप सहकार्य अन्यौलमा परेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको कोरोना विरुद्ध सार्क सहकार्य गर्न गरेको प्रस्तावमा साझा कोष सार्क सचिवालय मार्फत ल्याउनु पर्ने पाकिस्तानले भनेपछि सहकार्यमा अन्यौल आएको हो ।
पाकिस्तानले क्षेत्रीय सहयोगका लागि सार्क महत्वपूर्ण मञ्च बनाउनु पर्ने तर कुनै मुलुक मातहत नभई सचिवालय अन्तर्गत राखेर नै साझा पहल गर्नुपर्नेमा जोड दिएपछि अन्यौल देखिएको हो ।
भारत आफैंले ठूलो रकम एक करोड अमेरिकी डलरको कोष तय गरेको र उक्त कोषमा सबै सदस्य राष्ट्रले रकम थप गरेर सहकार्य गर्ने सहमति भएको थियो ।
तर पाकिस्तानले उक्त कोष सचिवालयमार्फत ल्याउन पर्ने अडान राखेपछि साझा कोषमा सार्कस्तरीय सहकार्य अघि बढ्न नसकेको हो ।
पाकिस्तान बाहेक अन्य सदस्य राष्ट्र भारतको प्रस्ताव स्वीकार गरेर अघि बढेको भए पनि त्यस अन्तर्गत सहकार्य हुन सकेको छैन ।
कोरोनाविरुद्ध साझा रणनीति बनाउने भारतको प्रस्ताव आएपछि सार्क अघि बढ्ने धेरैले अनुमान गरेका थिए ।
सार्कको वर्तमान अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मोदीको प्रस्तावलाई साथ दिँदै सहकार्य अघि बढाएका थिए ।
कोषमा रकम समेत घोषण गरिसकेकका छन् । शिखर सम्मेलन गरेर अध्यक्षता लिने तयारीमा रहेको पाकिस्तानले यसमा पनि अड्को थाप्दा सार्क अघि बढ्न नसक्ने अधिकारीहरुले बताएका छन् ।
भुटान, श्रीलंका, बंगलादेश, माल्दिभ्स, अफगानिस्तानले पनि स्वीकार गरेको र त्यसमा आरम्भमा पाकिस्तानले पनि समर्थन जनाएको थियो । तर, अहिले पाकिस्तानले एकाएक अड्को थापेको बुझाइ परराष्ट्र अधिकारीको छ ।
तपाईको प्रतिक्रिया