काठमाडौं, १० चैत । सार्क राष्ट्रबीच कोभिड–१९ विरुद्ध लड्ने बाचा कार्यान्वयन गर्न सार्कका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सक्रिय भएका छन् । गत हप्ता सार्कका राष्ट्र एवम् सरकार प्रमुखले भिडियो कन्फरेन्समार्फत कोभिड–१९ विरुद्ध लड्ने बाचा गरेका थिए ।
राष्ट्र एवम् सरकार प्रमुखले सहकार्यको बाचा गरेको एक साता पुग्नै लाग्दा पनि कुनै तयारी अघि नबढेपछि प्रधानमन्त्री ओली सक्रिय भएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको यो युद्ध सँगै लडेर दक्षिण एसियाली सहकार्यलाई दुनियाँमा नमुना बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।
भारतीय दूतावासका प्रवक्ता अभिषेक दुवेले सार्क सहकार्यमा भारतको जोड रहेको स्पष्ट पारे । उनले भने, ‘कन्फरेन्सपछिको अवस्थाबारे आन्तरिक छलफल भइरहेको छ । सदस्य राष्ट्रलाई सहयोग गर्न भारत तयार छ ।’
सार्क क्षेत्रमा दैनिक संक्रमित संख्या बढिरहेकाले नेतृत्व गम्भीर हुन आवश्यक रहेको अधिकारीहरूले बताए ।
भिडियो वार्तामा सार्क अध्यक्ष एवं प्रधानमन्त्री ओली, भारतीय प्रधानमन्त्री मोदी, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्ष, बंगलादेशकी प्रधानमन्त्री सेख हसिना, मालदिभ्सका राष्ट्रपति इब्राहिम सोली, भुटानका प्रधानमन्त्री लोटे छिरिङ र पाकिस्तानका स्वास्थ्यमन्त्री जाफर मिर्जा सहभागी थिए ।
तपाईको प्रतिक्रिया