काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीको घरमा कालो झण्डा गाड्ने, ढुंगा हान्ने र गालीगलौज गर्नेहरुमाथि अविलम्ब कारबाही गर्न माग गरिएको छ ।
जसपाका केन्द्रीय समिति सदस्य प्रकाश अधिकारीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी त्यस प्रकारको निन्दनीय र उदण्ड कार्य गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन् ।
केही युवाहरुको समूहले बुधबार सांसद गिरीको घर अगाडि नाराबाजी गर्नुका साथै घरमा कालो झण्डासमेत झुण्ड्याएका थिए ।
सांसद गिरीले सरकारले संसदमा दर्ता गराएको नक्सासम्बन्धित संविधान संशोधन विधेयक विरुद्ध संशोधन विधेयक दर्ता गराएकी छन् ।
प्रदर्शनकारीहरुले सरिता गिरी मुर्दावाद, सरिता गिरी देश छोड, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर नाराबाजी गर्नुका साथै कालो झण्डा गाडेका थिए ।
यसैगरी, बिहीबार पनि एक समूहले गिरीको घरअगाडि नारा जुलुस गर्दा प्रहरीले ती प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया