काठमाडौं, २५ असार । समाजवादी पार्टीले सांसद सरिता गिरीको निष्काशन संघीय संसदले स्वीकृत गरेको छ । समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरेको जानकारी पत्रमार्फत संसद् सचिवालयलाई गराएको थियो ।
सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको संघीय संसद सचिवालयले जनाएको छ । संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार प्रकाशित गरेको सूचना अनुसार गिरीको समानुपातिक सांसद पद रिक्त हुन आएको हो ।
समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने गिरीले पार्टीको ह्वीप उल्लङ्घन गरेको भनी केन्द्रीय समितिको बैठकले निष्काशन गर्ने निर्णय भएको पत्र प्राप्त हुन आएकोले उनको पद रिक्त भएको सचिवालयले जनाएको हो ।
राजनीतिक दल सम्बन्धी ऐन बमोजिम आवश्यक प्रक्रिया पूरा गरेको देखिएकाले संविधान बमोजिम उनको पद रिक्त भएको सचिवालयले जनाएको छ । गिरीको पद रिक्त भएसँगै उनको ठाउँमा अब लिला सिटौला सांसद बन्ने भएकी छन् ।
तपाईको प्रतिक्रिया