सर्लाहीमा कारोना संक्रमण तीव्र

समाचार

5/23/2020

सर्लाही, १० जेठ । सर्लाहीमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेको छ । शनिबार मात्र जिल्लामा १३ जना संक्रमित थपिएका छन् । उनीहरू सबै भारतबाट आएका थिए । हाल गोडैता नगरपालिकाका १२ जना र कविलासी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा संक्रमितहरू १८ देखि ३५ वर्ष उमेरका पुरुषहरू छन् । थपिएका संक्रमितमध्ये गोडैताका १२ जना नगरपालिकाको क्वारेन्टाइनमा छन् भने कविलासीका संक्रमित अहिले काठमाडौँमै रहेका र उतै परीक्षण गराएको बुझिएको पनि उनले बताए ।

शनिबार १३ संक्रमित थपिएसँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । यसअघि शुक्रबार मात्रै गोडैता नगरपालिकाका १३ जना र रामनगर गाउँपालिकाका एक जनामा संक्रमण देखिएको थियो ।

एक जना संक्रमितको गोडैता ठेगाना उल्लेख भए पनि ती व्यक्तिको पहिचान भएको छैन । गोडैता नगरपालिकाले सूचना निकालेर नगरपालिकाभित्र शुक्रबार १३ जना संक्रमित मात्रै फेला परेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ