मलंगवा, २८ असार । बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ परिवारको घर डुबानमा परेको छ । बाढीका कारण पाँच व्यक्तिको घर भत्केको छ ।
मलगंवा ५ स्थित लखनदेही खोलाको बाढी भाडसर गाउँमा पस्दा २७ घर डुबानमा परेको हो । घर डुबानमा परेपछि ती परिवारका १ सय ४७ जना घरबाट विस्थापित भएका छन् ।
लगातारको वर्षाले ईश्वरपुर नगरपालिका ९ बस्ने सिताराम महतोको खपडाले छाएको एक तले घरमा पानी पस्दा घर भत्केको छ । घर भत्केपछि उनको ७ जनाको परिवार छिमेकीको घरमा शरण लिन बाध्य भएका छन् ।
इश्वरपुर नगरपालिकाकै वडा नम्बर १५ बस्ने विजय दासको खपडाले छाएको बाँसको टाँटी भएको कच्ची घर अविरल परेको वर्षाको कारण भत्किँदा पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।
यस्तै, चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुर बस्ने अब्दुल बाकेको खपडाले छाएको कच्ची घर र खरले छाएको फुसको घर अबिरल वर्षाका कारण भत्केको छ । मलगंवा नगरपालिका ६ बस्ने नन्दकिशोर रायको खपडाले छाएको कच्ची घर पनि अविरल वर्षाका कारण भत्केको छ ।
तपाईको प्रतिक्रिया