सर्लाही र रौतहटमा लकडाउन कायमै

समाचार

6/13/2020

रौतहट, ३१ जेठ । सरकारले लकडाउनलाई खुकुलो पारे पनि प्रदेश २ का सर्लाही र रौतहटसहित अन्य दुई जिल्लामा ‘पूर्ण लकडाउन’ यथावत् रहने भएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएको जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ ।

सोही अनुसार सर्लाही, रौतहट र कपिलवस्तु र दैलेखमा लकडाउन जारी हुने भएको हो । यी चार वटै जिल्लामा ‘एक्टिभ’ संक्रमण संख्या २ सय बढी छ । सर्लाहीमा ४७१, रौतहटमा ५१६, कपिलवस्तुमा ३५३, र दैलेखमा ४४३ जना संक्रमित छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सरकारको निर्देशन आउनसाथ लकडाउन लागू गर्ने जनाए । यस्तै रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले पनि मन्त्रालयको मापदण्डबारे छलफल गरेर अगाडि बढ्ने बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय बढी ‘एक्टिभ’ संक्रमित रहेका जिल्लामा अर्को मापदण्ड जारी नभइन्जेल लकडाउन पहिलेकै अवस्थामा लागू हुने बताए ।

झण्डै तीन महिनापछि लकडाउनलाई पहिलो चरणमा खुकुलो गरिएसँगै मन्त्रालयले संक्रमण जोखिमलाई लक्षित गर्दै नयाँ मापदण्ड जारी गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ