सिरहा, १ जेठ । प्रदेश २ को ८ जिल्लामध्ये अहिलेसम्म कोरोना संक्रमित पुष्टि नभेटिएको सिरहामा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव भएको छ ।
जिल्लामा ठूलो संख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले जिल्लामा किटको अभाव भएको हो । किट अभावपछि परीक्षण प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
सिरहासँग जोडिएका प्रदेश २ को सप्तरी र धनुषा तथा प्रदेश १ को उदयपुरमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अहिलेसम्म कोरोना संक्रमण पुष्टि नभएको प्रदेश २ को एक्लो जिल्ला सिरहामा जोखिम बढेको छ । तर परीक्षण गर्ने आरडीटी किटको अभाव हुँदा परीक्षण प्रभावित भएको प्रमुख यादवले बताए ।
‘करिब दुई साताअघि ६०० किट आएको थियो,’ प्रमुख यादवले भने, ‘आएको किट सबै प्रयोग भइसकेको छ । अब हामीसँग किट छैन ।’
‘दैनिक जाँचका लागि विभिन्न स्थानीय तहबाट १ सय हाराहारीमा किटको माग भइरहेको छ । तर अभावका कारण दिन सकिरहेका छैनौं,’ प्रमुख यादवको भनाइ छ ।
किट पठाइदिन प्रदेश २ को स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयसँग माग गरेको र आएपछि आरडीटी जाँच अघि बढाउने प्रमुख यादवले बताए । किटकै अभावमा सिरहा जिल्लामा कोरोना परीक्षणको दर बढ्न सकेको छैन । हालसम्म सिरहामा ४६० जनाको पीसीआर परीक्षण भएको छ भने ५५० जनाको आरडीटी परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय, सिरहाले जनाएको छ ।
यता, पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको सिरहालाई सुरक्षित राख्ने चुनौती बढेको छ । प्रदेश २ को सिरहाबाहेक सातवटै जिल्लामा संक्रमितको संख्या ९४ पुगेको छ । पर्सामा ८२, बारा र रौतहटमा तीन–तीन, महोत्तरी र धनुषामा दुई–दुई र सर्लाही र सप्तरीमा एक–एक जनामा संक्रमण पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।
कोरोना प्रभावित जिल्लाका साथै खुला सिमानाका कारण भारतबाट समेत लुकीछिपी मानिस आउजाउ गरिरहेका कारण सिरहा जोखिममा परेको स्थानीयवासीले बताएका छन् । प्रभावित स्थानबाट हुने आवतजावतलाई पूर्णरूपमा रोक्न नसिकए सिरहा पनि सङ्क्रमणको चपेटामा पर्न सक्ने लहानका स्थानीयवासी तथा वडा नं ७ का वडाध्यक्ष राकेश गुप्ता रोशनले बताए ।
तपाईको प्रतिक्रिया