उत्तर प्रदेशमा तीन हजार टनको सुन खानी भेटियो

समाचार

2/22/2020

लनखउ, १० फागुन । भारतको उत्तर प्रदेश राज्यस्थित सोनभद्रको सोन पहाडी र हरदी इलाकाको एउटा समाचारले खुसीयाली छाएको छ ।

ती गाउँका बासिन्दको खुसीको कारण हो एउटा सुन खानी । स्थानीय प्रशासनले सुन खानी भेटिएको पुष्टि गरेपछि उनीहरु कम्ता खुसी छैनन् । उत्तर प्रदेश सरकारले सोनभद्रको हरदी गाउँ इलाकास्थित दुई पहाडमा सुन, युरेनियमसमेत कयौँ धातुको विशाल खानी रहेको पुष्टि गरेको छ ।

यही रिपोर्टले स्थानीयमा खुसीको लहर ल्याएको हो । यस रिपोर्ट अनुसार यी पहाडी क्षेत्रमा ३ हजार टन सुनको खानी मिलेको हो । जसको लिलामीका लागि सरकारले प्रक्रिया थाल्न लागेको छ । भारत अहिलेसम्म संसारकै सबैभन्दा थोरै सुनखानी रहेको देशमा पर्छ । तर यो सुन खानी भेटिएपछि अब भारत विश्वकै दोस्रो धेरै सुन भएको देशमा दरिनेछ । जानकारी अनुसार अहिलेसम्म अमेरिका पहिलो नम्बरमा छ ।

अमेरिकासँग ८,१३३.५ टन सुन छ । जर्मनीसँग ३,३६६ टन रहेको छ । तेस्रो नम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २,८१४ टन सुन छ । त्यसपछि इटाली, फ्रान्स, र रूससँग बराबरी सुन छ । उत्तर प्रदेशको सोनभद्र जिल्लामा सुन खानी मिलेपछि त्यहाँको पूरै क्षेत्रमा उत्साहको माहोल छ ।

समाचार अनुसार हरदी गाउँ, महुली गाउँसमेत एक दर्जन गाउँबासी रोजगार मिल्ने कुरालाई लिएर उत्साहित छन् । सोनभद्रको सुनले भारत सरकारसँग रहेको सुनको भण्डारमा पाँच गुणा वृद्धि हुनेछ ।

उत्तर प्रदेश सरकारले सुन र युरेनियम भण्डाको पुष्टि भएपछि पहाडको लिलामी प्रक्रिया अघि बढाउनेछ । सोनभद्र जिल्लाको सोन पहाडमा सुनको भण्डारका साथै पहाडमुनि युरेनियमको विशाल खानी पनि रहेको अनुमान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ