रौतहट, १८ चैत । रौतहटको कटहरिया जनता माबीमा सञ्चालित क्वारेन्टाइनमा २८ जनालाई राखिएको छ । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएका २८ जनालाई क्वारेन्टाइनमा राखिएका हुन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस नियन्त्रण गर्न बाहिरबाट आउनेलाई कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमा अनिवार्य बस्नैपर्ने व्यवस्था सरकारले गरेको छ ।
भारतको दिल्ली, गुजरात र नेपालकै विभिन्न ठाँउमा बसेर काम गर्दै घर फर्केका २८ जनालाई कटहरियास्थित क्वारेन्टाइनमा राखएिको हेल्थ असिस्टेन्ट कृष्णनन्दन साहले बताएका छन् । उनीहरुलाई स्वास्थ्य जाँच गरिनुका साथै खाना र पानीको व्यवस्थासमेत गरिएको छ ।
कटहरिया नगरप्रमुख सीयाराम कुुश्वाहाको पहलमा कटहरिया माविको भवनमा हाल १ सय बेड रहेको क्वारेन्टाइन सञ्चालन गरिएको छ ।
एकजना डाक्टर लक्ष्मण गुप्ताको नेतृत्वमा पीपीईसहित तत्काल १० जना स्वास्थकर्मीले सेवा दिइरहेका छन् ।
क्वारेन्टाइनमा थर्मलगन, आक्सिजनलगायत आवश्यक औषधीको समेत कटहरिया नगरपालिकाले व्यवस्था गरेको हेल्थ असिस्टेन्ट साहले बताए ।
तपाईको प्रतिक्रिया