काठमाडौं, ९ चैत । नेपाली सेनासहितको हेल्थ डेस्कले भारत र चीनबाट नेपाल प्रवेश गर्ने ४१ नाकामा स्वास्थ्य जाँच र निगरानी सुरु गरेको छ ।
सीमा नाकाबाट स्वदेश फर्किने व्यक्तिमा कोरोना संक्रमणको लक्षण जाँच गर्न राखिएका डेस्कमा सेनासहितको स्वास्थ्य टोली खटिएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार सरकारले सञ्चालन गरेको हेल्थ डेस्कमा सघाउन सेनाले ४१ नाकामा स्वास्थ्यकर्मीसहितको टोली खटाएको हो ।
सेनाले हरेक नाकाको हेल्थ डेस्कको अपडेटबारे थाहा पाउनेगरी एप्ससमेत बनाइरहेको पाण्डेले बताए । भारतमा कोरोना संक्रमण फैलिएपछि सीमा नाकामा स्वदेश फर्किनेको भिड लागेको छ ।
अहिलेसम्म चीनबाट नेपाल प्रवेश गर्ने नाकामा तीन र भारतबाट नेपाल प्रवेश गर्ने सीमामा ३८ वटा हेल्थ डेस्क राखिएको प्रवक्ता पाण्डेले बताए ।
तपाईको प्रतिक्रिया