काठमाडौँ । मिथिला कला र संस्कृतिलाई समकालीन क्यानभासमा उतार्दै कलाकार हरेराम यादवले राजधानीमा आफ्नो पहिलो एकल चित्रकला प्रदर्शनी आयोजना गरेका छन्। ‘सिराहादेखि काठमाडौँ’ शीर्षकको प्रदर्शनी हाल बबरमहलस्थित काठमाडौं आर्ट ग्यालरीमा सञ्चालन भइरहेको छ।
सिराहा, लहानका यादवले ललित कला क्याम्पसबाट स्नातकोत्तर अध्ययन पूरा गरेपछि मिथिला कला, संस्कृति र लोकजीवनलाई आफ्नो सिर्जनाको मुख्य विषय बनाएका छन्। प्रदर्शनीमा मिथिला सभ्यता, लोकदेवता, ग्रामीण जीवनशैली तथा मधेशका विभिन्न चाडपर्वलाई कलात्मक ढङ्गले चित्रण गरिएका २८ वटा चित्रकला समावेश छन्।
कलाकार यादवका अनुसार प्रदर्शनीमा छठ, गोवर्धन पूजा, सामा–चकेवा, झिझिया नृत्यलगायत मिथिला संस्कृतिका महत्वपूर्ण पक्षहरूलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। बाल्यकालदेखि देख्दै आएका सांस्कृतिक अभ्यास र गाउँघरको दैनिकीलाई क्यानभासमा उतारेर नयाँ पुस्तासमक्ष आफ्नो सांस्कृतिक पहिचान प्रस्तुत गर्ने प्रयास गरिएको उनले बताए।
उनले मिथिला कला परम्परागत रूपमा भित्तेचित्रमा सीमित भए पनि अहिले क्यानभास, पोसाक, हेल्मेट, पोस्टर तथा विभिन्न व्यावसायिक क्षेत्रसम्म विस्तार भइरहेको उल्लेख गरे। कला संरक्षणका लागि नयाँ पुस्ताले मिथिला कलालाई दैनिक जीवनका विभिन्न माध्यममार्फत प्रवर्द्धन गर्नुपर्ने उनको धारणा छ।
हिमालयन लाइटआर्ट अवार्ड प्राप्त गरेपछि उक्त सम्मानकै सहयोगमा प्रदर्शनी आयोजना गरिएको यादवले बताए। प्रदर्शनीमा दर्शकको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियाले आगामी दिनमा थप नयाँ शृंखलामा काम गर्ने प्रेरणा मिलेको उनले सुनाए।
काठमाडौंका दर्शकले मिथिला कलाका रंग, शैली र सांस्कृतिक प्रतीकलाई रुचिपूर्वक ग्रहण गरेको बताउँदै उनले केही कलाकृति बिक्रीसमेत भएको जानकारी दिए।
जेठ १३ गतेदेखि सुरु भएको प्रदर्शनी जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा मिथिला कलाका परम्परागत रंग, बुट्टा तथा सांस्कृतिक प्रतीकहरूलाई आधुनिक प्रस्तुतीकरणका साथ समेटिएको छ।
तपाईको प्रतिक्रिया