नयाँ राजनीतिक ध्रुवीकरणको संकेत: ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै

समाचार

काठमाडौं । विभिन्न राजनीतिक दलहरूबीच नयाँ राजनीतिक गठबन्धनका रूपमा ‘अग्रगामी मोर्चा’ गठन गर्ने सहमति जुटेको छ। शोषित, पीडित र उपेक्षित समुदायको प्रतिनिधित्व गर्दै आएका दलहरूले साझा एजेन्डासहित मोर्चा निर्माणको तयारी गरेका हुन्।

यसक्रममा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल र बहुजन एकता पार्टीबीच विस्तृत छलफल भएको हो।

छलफलपछि यी दलहरूबीच ‘अग्रगामी मोर्चा’ गठन गरी संयुक्त रूपमा राजनीतिक गतिविधि अगाडि बढाउने निष्कर्षमा पुगेको नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.रिजवान अन्सारीले मधेशवाणीलाई बताए । उनका अनुसार मोर्चाले विगतका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि संघर्ष गर्ने साझा धारणा बनाएको छ।

साथै, सहभागी दलहरूबीच भविष्यमा एकतासमेत हुन सक्ने सम्भावनाबारे पनि छलफल भएको बताइएको छ। आगामी २०८४ सालमा हुने प्रदेश तथा स्थानीय तहको निर्वाचनमा संयुक्त रूपमा एकल चुनाव चिन्ह लिएर सहभागी हुने निर्णयसमेत गरिएको छ।

मोर्चाको औपचारिक घोषणा भने श्रावण २३ गते काठमाडौंको थापागाउँस्थित काठमाडौँ बैंकेटमा गर्ने तयारी गरिएको छ। नयाँ मोर्चा निर्माणसँगै नेपाली राजनीतिक वृत्तमा नयाँ समीकरणको संकेत देखिएको विश्लेषण गरिएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ