काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं पूर्वसांसद रेशम चौधरीले पहिचान, अधिकार र न्यायका लागि विभिन्न समुदाय तथा पहिचानबीच एकता आवश्यक रहेको बताएका छन्।
अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले लामो समयदेखि अधिकारका लागि संघर्ष हुँदै आए पनि आपसी असमञ्जस्यताका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिए।
शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै चौधरीले वर्तमान संविधान निर्माणका क्रममा आफू थारुहट आन्दोलनका कारण प्रवासमा रहेको स्मरण गरे। आन्दोलनकै क्रममा आफूहरूलाई देशबाहिर जान बाध्य पारिएको र त्यसपछि जारी भएको संविधानमा थारु समुदायका अधिकार पर्याप्त रूपमा समेटिन नसकेको उनको भनाइ थियो।
उनले पहिचानको मागलाई राज्यले सकारात्मक रूपमा सम्बोधन गर्नुको सट्टा आफूहरूमाथि दमन गरिएको दाबी गरे। अधिकारका लागि आवाज उठाउँदा जेल जानुपरेको, आन्दोलनका क्रममा हतकडी लगाइएको र खुट्टामा नेलसमेत ठोकिएको उनले बताए।
चौधरीले अधिकार प्राप्तिका लागि संघर्षको अनुभव आफूहरूलाई कसैले सिकाउन आवश्यक नरहेको पनि बताए। लामो समयदेखि आन्दोलन गर्दै आए पनि अपेक्षित उपलब्धि हासिल हुन नसक्नुको कारण आन्दोलनकारी शक्तिहरूबीचकै असमञ्जस्यता हुन सक्ने भन्दै त्यसबारे गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।
उनले विभिन्न समुदाय, पहिचान, संस्कृति र राजनीतिक शक्तिबीच एकता आवश्यक रहेकोमा जोड दिए। पोसाक र सांस्कृतिक विविधताका उदाहरण प्रस्तुत गर्दै चौधरीले फरक पहिचान भए पनि अधिकार र न्यायका सवालमा साझा आधार निर्माण गर्न सकिने बताए।
उनका अनुसार यही उद्देश्यले अग्रगामी मोर्चाको आवश्यकता देखिएको हो। मोर्चाको गठनलाई कतिपयले आलोचना तथा जिज्ञासाका रूपमा हेरे पनि आगामी कार्यपत्रले यसको उद्देश्य र कार्यदिशा स्पष्ट पार्ने उनले बताए।
चौधरीले संविधान कार्यान्वयनमा आए पनि विभिन्न समुदायका अधिकार अझै पूर्ण रूपमा सुनिश्चित हुन नसकेको दाबी गर्दै त्यसका लागि साझा राजनीतिक प्रयास आवश्यक रहेको बताए।
उनले अधिकार र उपलब्धिका लागि विभिन्न पक्षबीच एकता अपरिहार्य रहेको र त्यसका निम्ति अग्रगामी मोर्चाको एकता महत्वपूर्ण हुने धारणा राखे।
तपाईको प्रतिक्रिया