काठमाडौं । उद्योगपति विनोद चौधरीले आफ्नो नाम र तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा विभिन्न स्क्याम लिंक तथा भ्रामक सामग्री प्रसारित भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन्।
चौधरीले सामाजिक सञ्जालमार्फत आफ्नो नाममा लगानी योजना, रकम स्थानान्तरण तथा अन्य आर्थिक कारोबारसँग सम्बन्धित भ्रामक सामग्री र लिंकहरू प्रसारित भइरहेको जनाउँदै त्यस्ता गतिविधिबाट सावधान रहन आग्रह गरेका हुन्।
उनका अनुसार यसअघि पनि सामाजिक सञ्जालमार्फत यस विषयमा सर्वसाधारणलाई जानकारी गराउनुका साथै आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई आग्रह गरिएको थियो। तर, आफ्नो नाम र तस्बिर प्रयोग गरी भ्रामक सामग्री प्रसारण हुने क्रम अझै नरोकिएको उनले बताएका छन्।
चौधरीले आफ्नो नाम वा तस्बिर प्रयोग गरिएका अपरिचित लिंकमा क्लिक नगर्न, व्यक्तिगत विवरण उपलब्ध नगराउन तथा कुनै पनि आर्थिक कारोबार गर्नुअघि त्यसको आधिकारिकता सुनिश्चित गर्न आग्रह गरेका छन्।
त्यस्ता गतिविधि वा सामग्री भेटिएमा सम्बन्धित सरकारी निकायलाई जानकारी गराउनसमेत उनले अनुरोध गरेका छन्।
चौधरीले सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बिर प्रयोग गरी प्रसारित हुने सामग्री आधिकारिक नभएको अवस्थामा त्यसलाई विश्वास नगर्न र आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया