काठमाडौं । ‘हुंकार मधेश’को केन्द्रीय अभियानको बैठकले संविधानसभा सदस्य रामकुमार ‘कश्यप’लाई सहजकर्ता र केशव कुमारलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ।
अभियानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सय दिने मेची–महाकाली हुलाकी यात्रा तथा पुनर्जागरण अभियान सम्पन्न भएपछि अभियानले निर्धारण गरेको योग्यता तथा मापदण्डका आधारमा संयोजकसहित अन्य केन्द्रीय संरचना निर्माण गरिनेछ।
त्यतिन्जेल अभियानको तर्फबाट समन्वय, सहजीकरण तथा सम्पर्कका लागि संविधानसभा सदस्य रामकुमार ‘कश्यप’लाई सहजकर्ताको जिम्मेवारी दिइएको हो।
त्यस्तै, अभियानको आधिकारिक धारणा तथा गतिविधिबारे सूचना सम्प्रेषण र जानकारी गराउने उद्देश्यले केशव कुमारलाई प्रवक्ताको जिम्मेवारी तोकिएको विज्ञप्तिमा उल्लेख छ।
अभियानका मुख्य पद तथा विभिन्न विभागीय जिम्मेवारीसमेत छिट्टै तोकेर सार्वजनिक गरिने हुंकार मधेशले जनाएको छ।
अभियानले समाजमा सकारात्मक सोचका साथ केही गर्न खोजिरहेका, निराश भएर बसेका, अन्यायमा परेका, राजनीतिक रूपमा प्रयोग भएर उपेक्षित भएका तथा राजनीतिक पीडितलगायत सम्पूर्ण न्यायप्रेमी जनतालाई अभियानमा जोडिन आह्वानसमेत गरेको छ।
तपाईको प्रतिक्रिया