जनकपुरधाम । ‘समग्र थरुहट–मधेश जोड्ने अभियान’ अन्तर्गत स्थापित हुंकार मधेशले मेची–महाकाली हुंकार हुलाकी यात्रा गर्ने भएको छ। अभियानले यात्राको विस्तृत कार्यतालिका सार्वजनिक गर्दै तीन चरणमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
अभियानका केन्द्रीय प्रवक्ता केशव कुमारद्वारा सोमबार जारी विज्ञप्तिअनुसार गत असोज ९ गते घोषणा गरिएको अभियानअन्तर्गत मंसिर ११ गतेदेखि मेची–महाकाली हुंकार हुलाकी यात्रा सञ्चालन गर्ने तयारी गरिएको हो। यद्यपि विस्तृत कार्यतालिकाअनुसार पहिलो चरणका गतिविधि मंसिर ७ गतेको समीक्षा बैठकबाटै सुरु भई माघ १७ गतेसम्म सञ्चालन हुनेछन्।
अभियानले यात्रालाई राजनीतिक, सामाजिक, सांस्कृतिक तथा वैचारिक बहसको माध्यम बनाउने उद्देश्य राखेको जनाएको छ। पछिल्लो समय राजनीतिप्रति नागरिकमा बढ्दै गएको निराशा अन्त्य गर्ने उपाय, राजनीतिक दल र नेताहरूको भूमिका तथा नेपालको मूल राजनीतिक अन्तर्द्वन्द्व समाधानका विषयमा विभिन्न स्थानमा संवाद र छलफल गरिने विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, मौलिक ज्ञान प्रणाली, पूर्वीय दर्शन तथा सभ्यता र सनातन संस्कृतिबारे गहन विमर्श गर्ने कार्यक्रमसमेत यात्रामा समेटिएको छ। समाजमा विद्यमान विभिन्न खाले समस्या पहिचान गरी तिनको समाधानका उपाय खोज्न स्थानीयस्तरमा नागरिकसँग संवाद गरिने अभियानले जनाएको छ।
हुंकार मधेशले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गरिनुपर्ने विषयमा जनमत तयार पार्ने उद्देश्यसमेत यात्राले बोकेको जनाएको छ। यसका साथै संघीय लोकतान्त्रिक हिन्दु गणराज्यको अवधारणाबारे बहस तथा संवाद सञ्चालन गरिनेछ।
अभियानका अनुसार मेचीदेखि महाकालीसम्म हुलाकी मार्गलाई केन्द्रमा राखेर सञ्चालन हुने यस यात्राले थरुहट र मधेशका विभिन्न समुदायबीच आपसी सम्बन्ध, एकता र साझा मुद्दामा सहकार्य विस्तार गर्ने लक्ष्य राखेको छ।
राजनीतिप्रति बढ्दो वितृष्णा, सामाजिक असन्तुष्टि र सांस्कृतिक पहिचानका सवाललाई सार्वजनिक बहसमा ल्याउँदै वैकल्पिक राजनीतिक तथा सामाजिक दृष्टिकोण निर्माण गर्ने प्रयासका रूपमा हुंकार मधेशले यस यात्रालाई अघि बढाउन लागेको हो।
तपाईको प्रतिक्रिया