बाढीपीडितको पीडा बेवास्ता गरेर कस्तो चाडपर्व ? सरकारसँग प्रभु साहको प्रश्न

समाचार

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भोटेकोशी बाढीपीडितसहित देशभरका प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र पुनर्निर्माणको कामलाई व्यवस्थित रूपमा अघि बढाउन छुट्टै अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सरकारसँग माग गरेका छन्।

दशैं, दीपावली तथा छठ पर्वको अवसरमा आजपा काठमाडौं उपत्यका विशेष कमिटीले शनिबार काठमाडौंको कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले विपद्पीडितको अवस्था अझै दयनीय रहेकाले उनीहरूको पीडालाई बेवास्ता गरेर चाडपर्व मनाउन नसकिने बताए।

“बाढीपीडितको अवस्था विजोग छ। बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व हुन्छ ?” उनले प्रश्न गरे।

साहले विपद्मा परेका नागरिकलाई राज्यले अभिभावकत्व प्रदान गर्नुपर्नेमा जोड दिँदै तत्काल राहत वितरण, क्षतिको मूल्यांकन, सुरक्षित पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई एकीकृत योजनाअन्तर्गत अघि बढाउनुपर्ने बताए।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकसहित देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट पीडित परिवारको पुनःस्थापना र पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। यसका लागि प्रभावकारी कार्ययोजना बनाउन र दीर्घकालीन पुनर्निर्माणलाई तीव्रता दिन अधिकारसम्पन्न प्राधिकरण आवश्यक रहेको उनले बताए।

आजपा अध्यक्ष साहले चाडपर्वका बेला बजारमा हुने महँगी, कालोबजारी र मनपरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाए। दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र उचित मूल्य सुनिश्चित गर्न सरकारले प्रभावकारी बजार अनुगमन गर्नुपर्ने उनको भनाइ थियो।

विशेषगरी खाना पकाउने ग्यास तथा घरायसी प्रयोजनका अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकार गम्भीर बन्नुपर्ने उनले बताए। कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र उपभोक्तामाथि मनपरी मूल्य थोपर्ने व्यवसायीमाथि कडा निगरानी र कारबाही गर्न उनले माग गरे।

साहले दशैं, दीपावली र छठका नाममा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक सेवा अवरुद्ध हुन नहुने बताए। स्वास्थ्य सेवा, शान्ति सुरक्षा, विद्युत्, खानेपानी र सञ्चारलगायतका सेवा चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराए।

“दशैं, दीपावली वा छठका नाममा अत्यावश्यक सेवा बन्द गर्न मिल्दैन,” उनले भने, “स्वास्थ्य सेवा र शान्ति सुरक्षा २४सै घण्टा सुनिश्चित हुनुपर्छ।”

चाडपर्वका बेला ठूलो संख्यामा नागरिक आवतजावत गर्ने भएकाले धार्मिक तथा पर्यटकीय स्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने उनले बताए। सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने, यात्रुको आवागमन सहज पार्ने र सम्भावित दुर्घटना तथा अवाञ्छित घटनालाई रोक्न सरकार र सुरक्षा निकायले विशेष योजना बनाउनुपर्ने उनको भनाइ थियो।

साहले चाडपर्वका बेला यात्रुको चाप बढेको मौका छोपेर सार्वजनिक यातायातमा मनपरी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण गर्न माग गरे। यात्रुलाई अनावश्यक दुःख दिने तथा तोकिएभन्दा बढी भाडा लिने कार्य रोक्न प्रभावकारी अनुगमन र कारबाही आवश्यक रहेको उनले बताए।

त्यसैगरी, बाढी, पहिरो वा अन्य कारणले अवरुद्ध भएका राजमार्ग तथा मुख्य सडक तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए। सडक अवरुद्ध हुँदा यात्रु तथा सर्वसाधारण लामो समयसम्म अलपत्र पर्ने अवस्था अन्त्य गर्न सम्बन्धित निकायलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ थियो।

ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन सहजता र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्न पनि उनले सरकारसँग आग्रह गरे। आकस्मिक उद्धार तथा राहतका लागि आवश्यक संयन्त्र सक्रिय राख्नुपर्ने र विपद् वा अन्य आपतकालीन अवस्था सिर्जना भए तत्काल सहायता पुर्‍याउने व्यवस्था मिलाउनुपर्ने उनले बताए।

साहले चाडपर्वलाई उत्सवका रूपमा मात्र नभई विपद्मा परेका नागरिकको पीडा स्मरण गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। राज्यले गरिब, विपन्न तथा विपद्पीडित परिवारको जीवन सहज बनाउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

उनले देशभरका नागरिकलाई दशैं, दीपावली तथा छठ पर्वको शुभकामना दिँदै चाडपर्वका समयमा नागरिकको सुरक्षा, सेवा र सुविधाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरे।

आजपा काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष पासाङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका सहअध्यक्ष तिलक थापामगर, उपाध्यक्ष धनकुमारी मगर, महासचिव त्रिभुवन साह, उपमहासचिव देवी पण्डित रेग्मी, प्रवक्ता सुभाष साह र सचिव विजय यादव लगायतको सहभागिता रहेको कार्यक्रमका सञ्चालक एवं उपत्यका विशेष कमिटीका सचिव रवि ध्वज कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ