काठमाडौं, ३० मंसिर । अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रा.लि.ले एक विज्ञप्ति जारी गरी उखु किसानहरुको आन्दोलनप्रति निकै चिन्तित र दुःखी रहेको जनाएको छ । अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिजअन्तर्गत अन्नपूर्ण तथा इन्दिरा सुगर मिल्स रहेका छन् ।
‘मंसिर पुसको जाडोमा यदी साच्चै पिडित किसानहरु यो आन्दोलनमा छन् भने उनीहरुप्रति हामी निकै चिन्तित र दुखी छौं । उनीहरुको समस्या तत्काल समाधान गर्न हामी तयार पनि छौं ।’ विज्ञप्तिमा भनिएको छ ।
गलत ठाउँमा उद्योग चलाएका कारण अहिलेसम्म ९० करोडभन्दा बढी घाटा खाएका इण्डष्ट्रिजले विज्ञप्तिमार्फत् जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको नेतृत्व गरिरहेका आफूलाई कृषक आन्दोलनका सचिव बताउने हरिश्याम राय बिचौलिया हुन र यो आन्दोलनको नाममा उनले हामीसंग मोलमोलाई गरेको जानकारी गराउँन चाहान्छौं ।’
विज्ञप्ति जस्ताको तस्तैः
आदरणीय सम्पादक ज्यू,
सञ्चारकर्मी मित्रहरु, नागरिक समाजका अगुवाहरु, नमस्कार
चिनी मिलबाट लामो समयदेखि भुक्तानी नपाएको भन्दै सर्लाहीका केही किसानहरु अहिले काठमाडौंमा आन्दोलनरत छन् । मंसिर पुसको जाडोमा यदी साच्चै पिडित किसानहरु यो आन्दोलनमा छन् भने उनीहरुप्रति हामी निकै चिन्तित र दुखी छौं । उनीहरुको समस्या तत्काल समाधान गर्न हामी तयार पनि छौं ।
हामीले यस अघिको विज्ञप्तिमार्फत पनि भनेका छौकी गतवर्ष पुसमा सरकारसंग भएको सहमति पछि बिगत १ बर्षको अवधिमा १८ करोड रुपैयाँ किसानको बक्यौता तिरेका छौं, अझै पनि निरन्तर बक्यौता तिरेर किसानको दुःखमा मलम लगाईरहेका छौं । तर काठमाडौमा गत आइतबारदेखि भएको आन्दोलनमा हामीले एक रुपैयाँ पनि बक्यौता नतिरेको, हामी किसानसंग सम्पर्कमा नरहेको, हामीले नियत राखेर किसानलाई दुःख दिएको जस्ता दुष्प्रचार भएकोप्रति हाम्रो गंभिर ध्यानाकर्षण भएको छ । हाम्रो स्वामित्वमा रहेको दुई वटा उद्योगको एक वर्ष अघिको ४० करोड बक्यौता घटेर २२ करोडमा आईपुग्दा पनि आन्दोलनमा रहेका मानिसहरुले हाम्रो एउटै मिलको बक्यौता ३० करोड भनी गलत प्रचार गरेका छन् । दुई वटा चिनी मिल सञ्चालन गर्न हामीले दुई अर्ब रुपैयाँ लगानी गरेका थियौं । गलत ठाउँमा उद्योग चलाएका कारण अहिले सम्म हामीले ९० करोड भन्दा बढी घाटा खाएका छौं ।
कोभिड़काकारण थलिएको आर्थिक अवस्थाका बाबजुत पनि सकेको बक्यौता तिरेका पनि छौं । अन्नपूर्ण चिनी मिल बिक्रीको लागि विभिन्न इच्छुक उद्योगहरुसंग छलफल गरि अन्तिम चरणमा पुग्ने कोसिस गरेको जानकारी हामी यसै विज्ञप्तिमार्फत पुन जानकारी गराउन चाहान्छौं । मिल बिक्री पछि हामी किसानको सबै रकम तिरेर यो दुःखबाट मुक्त हुन चाहान्छौं । तर काठमाडौं केन्द्रीत आन्दोलनमा भएको घुसपैठबारे केही कुरा भन्ने जरुरी भएपछि हामीले यो विज्ञप्ति जारी गरेका छौं।
आन्दोलनको नेतृत्व गरिरहेका आफूलाई कृषक आन्दोलनका सचिव बताउने हरिश्याम राय बिचौलिया हुन र यो आन्दोलनको नाममा उनले हामीसंग मोलमोलाई गरेको जानकारी गराउँन चाहान्छौं । हरेक पटक हामीलाई आन्दोलनको धम्की दिएर रायले विभिन्न मितिमा हामीसंग ३ करोड ३३ लाख ९२ हजार ८९९ रुपैयाँ भुक्तानी लिएका छन् । भुक्तानी नपाएका किसानसंग उखुका पर्ची सस्तोमा किनेर हामीलाई महँगोमा बेची करोडौं रुपैयाँ रायले लिने गरेका थिए । उनको स्वार्थअनुसार हामीले पैसा दिन नसकेपछि उनी आन्दोलन भन्दै काठमाडौं आउँछन् र पुनः मोल मोलाई सुरु गर्छन् । यसमा अरु व्यक्ति पनि संलग्न रहेको हुनसक्ने हाम्रो बुझाई छ, यसको बिस्तृत र निश्पक्ष छानबिनकालागि हामी बिनम्र अनुरोध गर्दछौं । हरिश्याम रायले कति जमिनमा खेती गर्छन ? उनको उखुको उत्पादन र विक्री कति थियो ? उनले मिलबाट पाउनु पर्ने रकम कति हो ? तर उनले सन् २०१९ को मे महिनाको २ तारिखदेखि सन् २०२० को मार्च ३ तारिखसम्म ३२ पटक गरेर हामीसंग ३ करोड ३३ लाख ९२ हजार ८९९ रुपैयाँ भुक्तानी लिएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको उनको खाता नम्बर ०४४०५०५०२७६५७५ मा उद्योगले बाध्य भएर पटक पटक पैसा पठाएको छ र नगदै समेत निजलाई दिएको छ । उनले हाम्रो घरमै आएर पैसा लिएको भिडियो प्रमाणसमेत हामीसंग सुरक्षित रहेको जानकारी गराउन चाहान्छौं।
आन्दोलनको नाममा उनले हामीलाई पटक पटक धम्क्याएर ठूलो रकम असुली गरेपछि हामीले बाध्य भएर उनको गतिविधि निगरानी गरेका थियौं र अब सहनै नसक्ने गरी हामीमाथि प्रहार भएपछि, यो सार्वजनिक गर्न बाध्य भएका हौं । यो सबै जानकारी हामीले सरकारलाई पनि बुझाएका छौं । हाम्रो दुःख सञ्चार माध्यम, सरकार, राजीनितक दल वा यो देशमा उद्योगी व्यवसायीको हितमा काम गर्ने कुनै निकायले नसुनेपछि हामी विक्षिप्छ बनेका छौं । यो देशमा रोजगारी सृजना गर्न दुई अर्ब लगानी गरेर सयौँ मानिसलाई जागिर दिएको हाम्रो उद्योग र हाम्रो लगानीबारे एक पटक पनि नसोची उल्टै हामीलाई चोर, फटाहा, ठग जस्ता उपमा दिएर तिरस्कार गरिदा यो देशको उद्योगी हूँ भन्न सक्दिन, मन बेस्सरी रोएको छ। ४० करोड रुपैयाँ तिर्न नसक्नेगरी कुनै उद्योगीले दुई अर्ब प्रत्यक्ष लगानी कसरी गर्न सक्छ ? सबै घटना क्रम नियलेर बसेको छु, मेरो कुरा कुनै पनि निकायले नसन्दा निकै नमजा लागेको छ । आवश्यक सबै प्रमाणसहित जन सके निकायमा हाजिर हुन र बहश गर्न तयार छ । किसान आन्दोलनको नाममा भएको दलालको छद्म नाटक सबैले चिनौं । अन्तमा मेरो बाचा पुनः दोहोरÞ्याउंछ साँच्चिकै पिडित र वास्तविक किसानको माग सम्बोधन गर्न तयार छ तर बिचौलिया र हामीलाई दुःख दिनेलाई तत्काल कारबाही होस् ।
नोटः निजलाई रकम पठाईएको बैंक विवरण र उनको कृषक कोड यसै विज्ञप्तिसाथ समावेश गरीएको छ।
तपाईको प्रतिक्रिया