जनकपुरधाम, २६ फागुन । धनुषामा अश्लील तथा दोहोरो अर्थ दिने गीत बजाउनमा प्रतिबन्ध लगाइएको छ । धनुषाको कुनै पनि स्थानमा कुनै पनि बहानामा अर्केष्ट्रा, नाचहरु समेत गर्न नपाइने निर्णय गरिएको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयमा जिल्लाका लाईट, साउण्ड तथा डिजे व्यवसायीहरुको उपस्थितिमा बसेको बैठकले राति ९ बजेदेखि बिहान ५ बजेसम्म डिजे तथा ठूलो आवाजमा बाजाहरु बजाउन बन्द गर्ने निर्णय गरिएको छ ।
बैठकमा गरिएको निर्णयहरू नमाने अथवा यसको विपरित गएकोमा प्रहरीले नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गर्ने निर्णय गरिएको प्रहरी उपरीक्षक रानभाटले बताए ।
यस्तो छ बैठकका निर्णयहरु :
१. हामी सम्पूर्ण डिजे व्यवसायीहरुले यसअघि नै जिल्ला प्रशासन कार्यालय धनुषाबाट निर्णय भए बमोजिम कुनैपनि अवसरमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म डिजे लगायत ठूलो अवाजमा ध्वनी निस्कने बाजाहरु बजाउन पुर्ण रूपमा बन्द गर्ने ।
२. बिहान ५ बजेदेखि राति ९ बजेसम्म डिजे, ठूलो अवाजमा ध्वनी निस्कने बाजाहरू बजाउँदा छरछिमेकीलाई अवरोध नहुने गरी सानो साउण्डमा बजाउने र छरछिमेकबाट गुनासो आएमा तत्काल बन्द गर्ने ।
३. कुनै पनि अवसरमा डिजे, ठूलो अवाजमा ध्वनी निस्कने बाजा बजाउँदा अश्लिल गीत, द्विअर्थ लाग्ने गीतहरु नबजाउने, साथै कहीँकतै कुनै पनि बहानामा आर्केष्ट्रा, नाचहरु समेत नगर्ने ।
४. प्रहरीमा छर–छिमेकीबाट गुनासो प्राप्त भएपश्चात प्रहरीले बन्द गराउन जाँदा सबैले पूर्ण रुपमा सहयोग गर्ने ।
५. अन्य जिल्ला तथा बाहिरबाट आउने डिजे व्यवसायीहरुले समेत माथि उल्लेखित निर्णयहरूको पूर्ण रुपमा पालना गर्ने ।
६. माथि उल्लेखित निर्णयहरूको बरखिलाप गरेको पाइएमा तत्काल प्रहरीले नियन्त्रणमा लिई कानुन बमोजिम सजायको भागिदार हुनेछौँ भनि सर्वसहमतिले निर्णय गरियो ।
तपाईको प्रतिक्रिया