काठमाडौं, ३० कार्तिक । उइगुर मुस्लिम समुदायमाथि चीनले आफ्नो देशमा गर्दै आएको अत्याचारविरुद्ध नेपालको विभिन्न ठाउँमा प्रदर्शन भएको छ । नेपालमा रहेका मुस्लिम समुदायका प्रतिनिधिहरुले चीनमा उइगुर मुस्लिम समुदायमाथि अत्याचार गरी नरसंहार मच्चाएको भन्दै चीन सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।
उइगुर मुस्लिम समुदायलाई स्वतन्त्रता देउ, उइगुर मुस्लिम समुदायको मानवअधिकार बहाली गर लगायतका प्लेकार्ड र व्यानर बोकेर जमाइत उलेमा नेपाल नामक मुस्लिम संगठनले काठमाडौंमा प्रदर्शन गरेको हो ।
सो संगठनले मोरङ, रुपन्देही, सिरहा लगायतका जिल्लामा एकैपटक प्रदर्शन गरेको हो । सबै जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत उनीहरुले नेपाल सरकारलाई चीनमा रहेका उइगुर मुस्लिमहरुको मानवअधिकार रक्षाका लागि पहल गरिदिन अपिल गरेका छन् ।
विभिन्न जिल्लामा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले चीनमा मुस्लिम समुदायमाथि भएको दमनको विरोध गरेका थिए । चीनमा अहिलेसम्म १५ हजार मस्जिद भत्काइएको, शौचालयमा रुपान्तरण गरिएका लगायतका बिषय प्रदर्शनकारीहरुले उठाएका थिए ।
विश्वभरका मुस्लम समुदाय किन चीनमा मुस्लिम समुदायमाथि भइरहेको अत्याचारका विरुद्ध मौन छ भन्दै उनीहरुले आफ्नै समुदायमाथि समेत प्रश्न उठाएका थिए ।
उनीहरुले चीन सरकारले तत्काल मस्जिद भत्काउने काम बन्द गर्नुपर्ने माग राखेका थिए । मुस्लिम समुदायलाई रोजा बस्न चीन सरकारले रोकेको बिषयमा पनि आपत्ती जनाउँदै उनीहरुले हिजाव पहिरिन पाउनुपर्ने पनि माग गरेका थिए ।
१८ लाख उइगुर मुस्लिमहरुलाई जेलमा तथा १० लाखलाई यातना केन्द्रमा राखिँँदा पनि किन विश्व जनमत चीन विरुद्ध उभिन नसकेको भन्दै प्रश्न गरेका थिए । पीडामा रहेका समुदायलाई नै चीनले मास्नेतर्फ लागेको उनीहरुको चिन्ता थियो ।
तपाईको प्रतिक्रिया