उत्तरी सीमा अतिक्रमणबारे सरकारको धारणा सार्वजनिक होस् : सरिता गिरी

समाचार

9/23/2020

काठमाडौं, ७ असोज । जसपाका पूर्वनेतृ तथा पूर्वमन्त्री सरिता गिरीले नेपालको उत्तरी सिमाना रक्षा गर्न सरकारसँग माग गरेकी छन् ।

चीनले हुम्लामा नेपालको भूमि अतिक्रमण गरेको भन्ने विषयमा पनि सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने गिरीले माग गरिन् ।

गिरीले एक विज्ञप्ति जारी गरी सरकार आफैंले सिमानाको रक्षा गर्न नसके मित्र राष्ट्रसँग सहयोग माग्नुपर्ने सुझनव दिएकी छन् ।

‘यदि नेपाल सरकार आफनो सिमानाको रक्षा अहिलेको अवस्थामा स्वयं गर्न सक्षम छैन भने मित्र राष्ट्रहरुसँग सल्लाह गरी र सहयोग मागी नेपालको उत्तरी सिमानाको रक्षाको व्यवस्था गर्नका लागि तत्काल अग्रसर हुन सरकारसँग आग्रह गर्दछु’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीनले नेपालको भूमि अतिक्रमण गरेकोबारे पनि नेपाल सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन पनि उनले माग गरेकी छिन् ।

हुम्ला र गोरखाको रुई गाउँमा चीनले नेपाली भूमि अतिक्रमण गरेको दाबी गर्दै गिरीले यसलाई बेवास्ता गर्दै गएमा नेपाल क्षेत्रीय द्वन्द्वमा फस्न सक्ने आशंकासमेत गरेकी छन् । नेतृ गिरीले भारतसँग देखिएको सीमा विवाद ऐतिहासिक तथ्य र प्रमाणको आधारमा वार्तामार्फत् समाधान गर्न पनि माग गरेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ