काठमाडौं, ४ असोज । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको शनिबार साँझ औपचारिक उद्घाटन भएको छ ।
शुक्रबारदेखि नै अनौपचारिक रुपमा सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन पूर्वस्वास्थ्यमन्त्री गगन थापा, गैरआवासीय नेपाली संघ) (नआरएन) का अध्यक्ष कुमार पन्त तथा राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले एनआरएनएले गरेको यो प्रयास निकै सराहनीय भएको बताए ।
संसारभरी छरिएर रहेका नेपालीहरुलाई नेपालसँग जोड्न आफू सँधै प्रतिबद्ध रहेको उनले उल्लेख गरे । ‘आज पर्याप्त स्रोत र साधनको अभावमा देश गुज्रिरहेको छ । यस्तो संकुचित अवस्थामा त्यसको पूर्ति गैरआवासीय नेपालीहरुका अनुभव र अभ्यासबाट हुन्छ भन्ने अपेक्षा छ । तपाईँहरुको अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छ ’ पूर्वमन्त्री थापाले भने ।
कोरोना महामारीकाबीच स्वास्थ्यकर्मीहरुले आआफ्नो क्षेत्रबाट निकै महत्वपूर्ण योगदान पुर्याएको तर सरकारले इच्छाशक्ति देखाएर काम गर्न नसकेको उनको तर्क थियो । पूर्वमन्त्री थापा भन्छन् ‘महामारीमा हामीबीच नयाँ अनुभवहरु भएका छन् ।
उन्नत संरचनाहरु बनेका छन् । यी सबैकुरा हुँदै गर्दा पनि राजनीतिक नेतृत्व जुन इच्छाशक्तिका साथ आउनु भने हो त्यो अभाव देखिएको छ’ कोरोना महामारीले स्वास्थ्यसँगै आर्थिक तथा सामाजिक संकट समेत निम्त्याएकाले सरकार, गैरआवासीय नेपाली, राजनीतिक दल र सबै सरोकारवाला समन्वय गरेर अगाडी बढ्नुपर्ने धारणा उनले राखे ।
तपाईको प्रतिक्रिया