वीरगञ्ज, १४ पुस । प्रधानमन्त्री केपी ओलीले ससद विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समुहले मंगलबार वीरगन्जमा विरोध प्रदर्शन गरिरहेकै बेला ओली पक्षधरले नेकपा विभाजनको औचित्य र सन्देश दिन बुधबार प्रदेश स्तरीय भेला गर्न लागेको छ ।
ओली पक्षले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टी विभाजनको औपचारिक सन्देश दिन वीरगन्जमा बुधबार नेकपाले पहिलो प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा नेकपा ओली समूहका स्थायी कमिटि सदस्य एवं प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले प्रधानमन्त्री ओलीले रहरले नभई बाध्यताले संसद विघटन गरी चुनावको घोषणा गरेको बताए ।
प्रधानमन्त्री ओली संघीयता र लोकतन्त्रको विरोधी नभई रक्षक भएको जिकिर पनि उनले गरे । नेकपा अन्य कुनै राजनीतिक शक्ति वा बाह्य कारणले नभइ नेकपाकै आन्तरिक कारणले विभाजन हुन पुगेको मण्डलले बताए ।
इन्चार्ज मण्डलले चीनले जतिसुकै प्रयास गरे पनि पार्टी विभाजन नरोकिने बताए । उनले भने, ‘नेकपा फुटि सक्यो, अब चीनले जति नै कोसिश गरेपनि पार्टी एक हँुदैन । चीनले नेकपा र नेपालको हितमा नभई आफनो स्वार्थपूर्तिका लागि अहिले नेकपाको विवादमा सक्रियता देखाएको छ ।’
उनले भने, ‘बुधबारको भेलाले पार्टी विभाजनको औचित्य र सन्देश दिनेछ, त्यसपछि आगामी कार्यक्रम घोषणा गर्छौ ।’ बुधबारको भेलालाई पार्टीका महासचिव एंव अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री प्रभु साह, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, महिला तथा बालबालिकामन्त्री जुली महतो, स्थायी कमिटी सदस्य रघुवीर महासेठ लगायतका नेताले सम्बोधन गर्ने छन् ।
भेलाले पार्टीको भावी रणनीति तथा कार्यक्रम तय समेत गर्ने छ ।
यसैबीच नेकपा प्रचण्ड–नेपाल समूहका समर्थकहरुले संसद विघटन विरुद्ध विरोध प्रर्दशन गरेको छ । वीरगन्जको रामगढवास्थित पार्टी कार्यालयबाट निकालिएको विरोध जुलुस महानगरपरिक्रममा पश्चात घण्टाघर चोकमा पुगे। कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई केन्द्रीय सदस्य उर्मिला अर्याल, नागेन्द्र चौधरी, रामचन्द्र साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया