काठमाडौं, ३१ भाद्र । आउँदो शैक्षिक सत्रका लागि कक्षा ११ को नेपाली विषयको नयाँ पाठ्यक्रममा प्रजातान्त्रिक योद्धा शहीद दुर्गानन्द झाको बारेमा त्रुटि नै त्रुटि प्रकाशित गरिएको छ ।
नेपाल सरकारको शिक्षा मन्त्रालय मातहतका पाठ्यक्रम विकास केन्द्रले शहीद दुर्गानन्द झाको बारे प्रकाशित गरेको विवरण भ्रामक र बिना गृहकार्य हचुवाको भरमा तयार गरिएको देखिन्छ । शिक्षा मन्त्रालयसँग राष्ट्रिय शहीदको तथ्यगत विवरण नरहेको प्रष्ट देखिन्छ ।
‘तराई मूलका सहिद’
कक्षा ११ को नेपाली विषयको नयाँ पाठ्यक्रममा शहीद दुर्गानन्द झालाई ‘तराई मूलका शहीद’ भनेर उल्लेख गरेको छ । यो अति नै आपतिजनक रहेको आफन्तजनको गुनासो छ ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै शहीद दुर्गानन्द झालाई राष्ट्रिय शहीद भनी घोषणा गरेका थिए । तर सरकारकै सम्बन्धित मन्त्रालय मातहतका निकायले यस्तो त्रुटि गर्नु हचुवाको भरमा पाठ्यक्रममा समावेश गरिएको ठहर्छ ।
शहीद दुर्गानन्द झा प्रजातान्त्रिक व्यवस्थाका लागि आफ्नो सहादत दिएका थिए । उनले तराई, पहाड वा हिमालमा मात्र वा भूगोल विशेषका लागि प्रजातन्त्र होस् भनेर सहादत दिएका थिएनन् । उनी राष्ट्रिय विभूति हुन् भनेर सरकारले नै घोषणा गरिसकेको छ ।
आमा ‘देविका’ झा
यस्तै, पाठ्यक्रममा शहीद दुर्गानन्द झाका आमाको नाम ‘देविका’ झा भनिएको छ । जबकि उनको आमाको नाम शुकुमारी देवी रहेको उनका भतिजो जितेन्द्र ठाकुर बताउँछन् ।
ठाकुरले मधेशवाणीलाई भने, ‘नयाँ पाठ्यक्रममा उहाँ (दुर्गानन्द झा)को बारेमा प्रकाशित भएको भन्ने कुरा सुनेर हर्षित भएको तर, उहाँका बारेमा दिइएको विवरण हेर्दा अति नै दुःख लाग्यो ।’
जन्मस्थान सिरहा जिल्लाको जटही ?
यसैगरी, कक्षा ११ को नेपाली विषयको नयाँ पाठ्यक्रममा शहीद दुर्गानन्द झाको जन्मस्थानमा ठूलो गल्तीसहित विवरण प्रकाशित भएको छ ।
नयाँ पाठ्यक्रममा शहीद दुर्गानन्द झाको जन्मस्थान सिरहा जिल्लाको जटही भनिएको छ । जबकि उहाँको जन्मस्थान धनुषा जिल्लाको जटही रहेको छ ।
यस्ता भ्रमपूर्ण र त्रुटिपूर्ण पाठ्यक्रम विद्यार्थीलाई पढाउँदा कस्तो ज्ञान हासिल गर्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । इतिहासलाई नै भ्रमपूर्ण बनाउने दुस्प्रयास कसरी भयो भन्ने कुराको छानबिन हुनु आवश्यक छ ।
यो नयाँ पाठ्यक्रममा रहेका यस्ता त्रुटिहरुलाई नसच्याइए आगामी पुस्ताले आफ्नो इतिहासबारे अन्योलमा पर्छन् । शहीद दुर्गानन्द झाका भतिजो जितेन्द्र ठाकुरले त्रुटिपूर्ण विवरणलाई सच्याई पुनः प्रकाशनका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
पाठ्यक्रममा सिर्जना र परियोजना शीर्षकको १ नम्बरमा भनिएको छ, ‘दिइएको तस्वीर हेर्नुहोस् र तिनका वरिपरिका पदावलीका आधारमा जीवनी लेख्नुहोस्’ ।
यस्तो त्रुटिपूर्ण विवरणको आधारमा कक्षा ११ का विद्यार्थीले कस्तो जीवनी लेख्लान त ? र त्यो कतिको तथ्यपूर्ण हुन्छ भन्ने प्रश्न पनि खडा भएको छ ।
तपाईको प्रतिक्रिया