काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरिसकेपछि राजनीतिक दलहरुबीच तीव्र ध्रुवीकरण भइरहेको छ । विश्वासको मत भोली सोमबार प्रधानमन्त्री लिने भएका छन् । त्यसको पूर्वसन्ध्यामा प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच छलफल भएको छ ।
आइतबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ ।
जसपाका ठाकुर र महतो देउवा निवास बुढानीलकण्ठ पुगी देउवासँग छलफल गरेका थिए । विश्वासको मतको पक्ष कि विपक्षमा जाने विषयमा देउवासँग ठाकुर र महतोले छलफल गरेको स्रोतले बताएको छ ।
ठाकुर र महतोले ओलीकै सरकारलाई निरन्तरता दिने पक्षमा देखिएका थिए भने कांग्रेस सभापति देउवाले यसबारे पार्टीभित्र थप छलफल गरिने बताए । यता जसपाका उपेन्द्र यादव र डा.बाबुराम भट्टराई जसरी पनि ओलीको बहिर्गमनमा लागेका छन् ।
यसअघि नै नेपाली कांग्रेसले ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ भने जसपा अहिलेसम्म कुनै संस्थागत निर्णय गरेको छैन ।
तपाईको प्रतिक्रिया