काठमाडौं, १९ कार्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । तीनदिने भ्रमणका लागि नेपाल आइपुगेका सेनाध्यक्ष नरवणे भारतीय वायु सेनाको विमानमार्फत उनी काठमाडौं आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नरवणेलाई नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरुले स्वागत गरेका छन् ।
बुधबार नरवणे नेपाल आएको पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।
पत्नीसहित आएका उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारीसमेत गरेको स्रोतको भनाइ छ ।
नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने कार्यक्रम शीतल निवासले बिहीबार राखेको हो ।
शीतल निवासको कार्यक्रमअघि नै नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ, त्यसपछि उनले जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्नेछन् ।
समकक्षी नेपाली सेनाका महारथी पूर्णचन्द्र थापासँग पनि नरवणेले बिहीबार नै औपचारिक सम्वाद गर्नेछन् ।
छलफलपछि जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग उनले छलफल समेत गर्नेछन् । नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझ रात्रि भोजको समेत आयोजना गरेको छ ।
भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन् । त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया