काठमाडौं, १० भाद्र । काठमाडौं लगायत ललितपुर र भक्तापुरमा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ ।
कोरोना भाइरसको संक्रमण दिनप्रदिन बढ्दै गएकोले नियन्त्रण तथा रोकथामका लागि थप एक साता निषेधाज्ञा लम्ब्याइएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच हिजो मंगलबार भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले भाद्र १७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको छ ।
निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
तपाईको प्रतिक्रिया