काठमाडौं ओर्लने बित्तिकै भारतीय विदेश सचिवले भने, ‘नेपाल र भारत निकटतम् मित्र’

समाचार

11/26/2020

काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले भारतीय विदेश सचिव श्रृंगला काठमाडौं आइपुगेको जानकारी दिए ।

उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमण आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाल र भारतबीच आजै परराष्ट्र सचिवस्तरमा वार्ता हुनेछ । नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न लागिएको हो ।

श्रृंगलाको भ्रमणमा सीमा विवादका बारेमा कुराकानी हुने अपेक्षा गरिएको छ । श्रृंगलाले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ ।

यस्तै, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि विदेश सचिव श्रृंगलाले शिष्टाचार भेट गर्नेछन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उहाँले आजै भारत सरकारका तर्फबाट नेपाललाई कोभिड १९ संग सम्बन्धित स्वास्थ्य सामाग्री हस्तान्तरण पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी भोलि स्वदेश फर्किने छन् ।

भारतीय विदेश सचिव श्रृंगला काठमाडौँ विमानस्थलमा अवतरण गर्ने बित्तिकै सञ्चारकर्मीसँग कुराकानी पनि गरेका छन् ।

उनले नेपालीमा सम्बोधन गर्दै आफ्नो भ्रमणमा दुई देशबीचको सम्बन्ध अझै गाढा बढाउने विषयमा छलफल गरिने जानकारी दिए ।

उनले नेपाल भारत मैत्री सम्बन्धका विषयमा भर्चुअल माध्यमबाट आफ्नो धारणा राख्ने, गोरखामा निर्माण भएका भवनको उद्घाटन गर्नेलगायतका कार्यक्रम रहेको बताए ।

उनले भने, ‘भारत र नेपाल निकटम मित्र हो । मेरो निक्कै मिटिङ हुन्छ आज । आजको मिटिङमा यो मित्रतालाई अझै गाढा बनाउने विषयमा छलफल हुनेछ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ