कपिलवस्तुमा कोरोनाबाट एक युवकको मृ्त्यु, एकै दिन ४६ संक्रमित थपिए

समाचार

9/10/2020

कपिलवस्तु, २५ भाद्र । कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृगौला र उच्च रक्तचापका बिरामी कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

बिरामी परेपछि उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल लगिएकोमा गत सोमबार मृतकमा कोरानो पुष्टी भएको थियो ।

उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । मृतक ज्यालादारी काम गर्ने गर्थे । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ६ पुगेको छ ।

जिल्लामा बिहीबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन ४ पालिकाका ४६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

थपिएका ४६ सहित कपिलवस्तुमा संक्रमितको संख्या १ हजार २ सय २४ पुगेको छ । जिल्लाको वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाका ४६ जना रहेका छन् ।

थपिने संक्रमितहरुमा नेपाल प्रहरी, शिक्षक, विद्यार्थी, गृहिणी, सामाजिक कार्यकर्ता, कर्मचारी र वैदेशिक रोजगारीबाट आएका रहेका छन् ।

उता कोरोना पोजेटिभ भएर आइसोलेशनमा बसेका व्यक्तिहरु पनि निको भएर घर फर्कनेको संख्या बढेको छ । जिल्लाको कुल १ हजार २ सय २४ कोरोना संक्रमितमध्ये १ हजार ६२ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ