काठमाडौं, ७ असोज । चीनसँगको नाका बन्द हुँदा कोभिड–१९ रोकथामका लागि प्रयोग हुने करोडौं मूल्यका स्वास्थ्य सामग्री बाटैमा अलपत्र छन् ।
‘व्यापारिक वस्तु मात्र नभई कोभिड संक्रमणबाट बच्न प्रयोग स्वास्थ्य सामग्रीको आयात पनि रोकिएको छ,’ रसुवागढी भन्सार प्रमुख पुण्य खड्काले भने ।
बारम्बारको नाका बन्द र खुलेका बेला पनि सीमितलाई मात्र पार गर्न दिइदा तीन महिनादेखि स्वास्थ्य सामग्री चिनियाँ गोदाममा छन् ।
ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीले नाका बन्द भएपछि पीसीआर मेसिन महँगो ढुवानी खर्चमा चीनबाट जहाजमार्फत ल्याएको बताए ।
रसायन–केमिकल तथा आपूर्ति व्यवसायी संघका पूर्वउपाध्यक्षसमेत रहेका भण्डारीले पछिल्लो समय धेरै मेडिकल सामग्री चीनबाटै आउने भएकाले नाका बन्द हुँदा व्यवसायीलाई ठूलो समस्या परेको बताए ।
कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि भने सबैजसो सामग्री चीनबाटै ल्याइने गरेको छ । चीनले पछिल्लोपटक दुई सातादेखि उत्तरका केरुङ र तातोपानी नाका बन्द गरेपछि नेपाली व्यवसायीले खरिद गरेका अन्य सामान बोकेका सयौं कन्टेनर सीमापारि अलपत्र छन् ।
करोडौं मूल्यका सामान अलपत्र परेपछि नाका खोल्ने विषयमा परराष्ट्र मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासमार्फत कुराकानी गरेको बताउँदै आएको छ ।
तपाईको प्रतिक्रिया