काठमाडौं, ३ मंसिर । चीनले कोरोना भाइरसबारे समाचार लेख्ने एक पत्रकारलाई पाँच वर्ष जेल सजाय दिने भएको छ ।
३७ वर्षीय पूर्व वकिल समेत रहेकी झाङ झानलाई गत मे देखि प्रहरीले नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ । सार्वजनिक भएका केही कागजात अनुसार उनलाई पाँच वर्षसम्मको जेल सजाय दिन लागेको हो । उनीमाथि झगडा गराएको र समस्या उत्पन्न हुने गरी भड्काएको आरोप लगाइएको छ । चीनले यस्तो मुद्दा विशेष गरी चिनियाँ अभियन्ताहरूमाथि लगाउने गरेको छ ।
यसरी चीनले वुहानमा देखिएको करोना भाइरसबारे रिपोर्टिङ गर्ने झाङलाई मात्रै नियन्त्रणमा लिएको भने होइन । गत फेब्रुअरी देखि कम्तिमा पनि तीन जना पत्रकार बेपत्ता भएका छन् । तीमध्ये एक ली जिहुवा गत अप्रिलमा फेला परेका थिए । त्यस्तै दोस्रो पत्रकार चेन कुइशीलाई सरकारको निगरानीमा राखिएको खुलेको थियो । तर तेस्रो पत्रकार फाङ विन भने अझै बेपत्ता छन् ।
सार्वजनिक भएको अभियोगपत्र अनुसार पत्रकार झाङ गत फेब्रुअरीमा कोरोना भाइरस सम्बन्धी रिपोर्टिङ गर्न वुहान पुगेकी थिइन् । जहाँ उनले विभिन्न मुद्दामा समाचार लेखेकी थिइन् ।
तपाईको प्रतिक्रिया