क्लिनफिड नीति कार्यान्वयन छ महिना स्थगित गर्न इन्डियन ब्रोडकास्टिङ फाउन्डेसनको पत्र

समाचार

9/11/2020

काठमाडौं, २६ भाद्र । भारतीय टेलिभिजन च्यानल प्रसारण संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ)ले नेपाल सरकारलाई पत्र पठाउँदै क्लिनफिड नीति कार्यान्वयन छ महिना स्थगित गर्न आग्रह गरेको छ ।

आईबीएफले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई पत्र लेख्दै वर्तमान महामारीको कारण उक्त नीति कार्यान्वयन छ महिना स्थगित गर्न आग्रह गरेको हो ।

‘नेपाल सरकारको विज्ञापन (नियमन) ऐन २०७६ अनुसार हामीले बुझेअनुसार अक्टोबर २६ (कात्तिक १०) देखि यो नीति कार्यान्वयनमा आउनेछ’, उसले पत्रमा भनेको छ, ‘अहिले महामारीले विश्व नै आक्रान्त भइरहँदा भारत र नेपालमा पनि यसको व्यापक प्रभाव परेको छ, लकडाउनका कारण यसअघि छुट्याइएको छ महिना बितिसकेको छ। यस्तो अवस्थामा यो नीति कार्यान्वयन छ महिना स्थगित गर्न आग्रह गर्छौँ ।’

पूर्ण वा आंशिक लकडाउनका कारण आफ्ना सदस्यहरु बाहिर निस्किन समेत नपाएको र यस्तो अवस्थामा प्राविधिक परीक्षणलगायतमा चुनौती देखिएकाले उक्त अवधिसम्म नीति कार्यान्वयन स्थगित गर्न आईबीएफले आग्रह गरेको छ ।

आईबीएफका राधाकृष्णनले लेखेको पत्रमा कोरोना महामारीका कारण सिर्जित अवस्था सामान्य भएपछिको छ महिनासम्म क्लिनफिड नीति कार्यान्वयन स्थगित गर्नुपर्ने अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ